धोनी चम्किँदा चेन्नईको रोमाञ्चक जित, कीर्तिमानी मुम्बईको लगातार सातौं हार

Image

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा चेन्नई सुपर किंग्स (सिएसके) ले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ । जारी लिगमा चेन्नईको यो दोस्रो जित हो ।

आफ्नो सातौँ खेलमा मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर भेट्टायो । उसका लागि अम्बाती रायडूले ४०, रोबिन उथप्पाले ३०, महेन्द्रसिंह धोनीले अविजित २८, ड्वेन प्रिटोरियसले २२, शिवम् दुबेले १३ र मिचेल सान्टनरले ११ रन बनाए ।

चेन्नईको जितमा धोनी र प्रिटोरियसले उत्कृष्ट फिनिसिङ गरे । अन्तिम ओभरमा चेन्नईलाई जितको लागि ६ बलमा १७ रनको आवश्यकता थियो । यस ओभरको पहिलो बलमा चेन्नईले प्रिटोरियसलाई गुमायो । दोस्रो बलमा ड्वेन ब्रावोले एक रन लिँदै धोनीलाई स्ट्राइक दिए ।

धोनीले तेस्रो बलमा छक्का र चौथो बलमा चौका हिर्काउँदै खेलाई जित नजिक पुर्याए । पाँचौं बलमा उनले दुई रन जोडे । धोनीले अन्तिम बलमा चौका हिर्काउँदै चेन्नईलाई रोमाञ्चक जित दिलाए ।

मुम्बईका लागि डानियल साम्सले चार, जयदेव उनादकटले दुई र रिले मेरिडिथले एक विकेट लिए । त्यसअघि डिवाई पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो ।

डिवाई पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो । उसका लागि युवा ब्याटर तिलक वर्माले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा तीन चौका र दुई छक्काको मद्दतमा नटआउट ५१ रन बनाए । १९ वर्षीय तिलकले कठिन समयमा अर्धशतकीय पारी खेलेका हुन् ।

जारी लिगमा उनको यो दोस्रो अर्धशतक हो । त्यस्तै, जयदेव उनादकटले उत्कृष्ट पारी खेले । उनले ९ बलमा एक चौका र एक छक्कासहित अविजित १९ रन बनाए । सूर्यकुमार यादव ३२, ऋतिक शोकिन २५ र किरण पोलार्ड १४ रनमा आउट भए । कप्तान रोहित शर्मा र इशान किशनले भने खाता खोल्न सकेनन् ।

चेन्नईका लागि मुकेश चौधरीले उत्कष्ट बलिङ गरे । उनले ३ ओभरमा १९ रन खर्चिएर महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै, ड्वेन ब्रावोले दुई, महेश थिक्क्षणा र मिचेल सान्टनरले एक/एक विकेट हात पारे । यो जितसँगै चेन्नईले चार अंक जोडेको छ ।

ऊ अंक तालिकाको नवौँ स्थानमा छ । यता पाँचपटकको आइपिएल विजेता मुम्बईको भने यो लगातार सातौँ हार हो । योसँगै प्लेअफ पुग्ने मुम्बईको सपना लगभग समाप्त भएको छ ।