काठमाडौं ।
भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले निकै खराब प्रदर्शन गरिरहेको छ । उसले आठ म्याच खेल्दा सबैमा हार बेहोरेको छ । योसँगै प्लेअफ पुग्ने मुम्बईको सम्भावना लगभग समाप्त भएको छ ।
मुम्बई हारको कारण अभनुवी खेलाडीको कमजोर प्रदर्शन रहेको छ । विशेष गरी मुम्बई ब्याटिङमा चुकिरहेको छ । कप्तान रोहित शर्मा, इशान किशन, किरण पोलार्डलगायत टिमका स्टार ब्याटरको कमजोर प्रदर्शनले मुम्बईको हालत अहिले निकै खराब छ ।
आइतबार राति लखनउ सुपर जायन्ट्सविरुद्धको खेलमा पनि रोहित र तिलक वर्माबाहेक अन्यको प्रदर्शन फिक्का रह्यो । वेष्ट इण्डिजका आक्रामक ब्याटर पोलार्डले लखनउविरुद्ध बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि उनी ब्याटिङमा भने चम्किन सकेनन् ।
बलिङमा पोलार्डले कृणाल पाण्ड्यासहित दुई ब्याटरको विकेट लिएका थिए । कृणालको विकेट लिएको बेला पोलार्डले ‘चुपचाप’ शैलीमा खुसी आदानप्रदान गरे । कृणाललाई आउट गरेको बेला खुसी भए पनि उनले ‘मात्तिएर’ सेलिब्रेसन गरेर मनाएनन् ।
दोस्रो इनिङ्समा कृणालले पोलार्डको विकेट लिए । उनले भने अलि ‘ओभर’ भएरै सेलिब्रेसन गरे । अर्थात् पाण्ड्याले पोलार्डको टाउँकोमा चुम्बन गरेर विकेट लिएको पललाई खुसियालीमा बदले । तर, उनको यो सेलिब्रेसनको आलोचना पनि भइरहेको छ ।
मुम्बईका लागि पोलार्डले २० बलमा १९ रन बनाए । अन्तिमतिर उनी ठूलो शट खेल्ने प्रयासमा थिए । तर, पोलार्ड पाण्ड्याको हातबाट क्याच आउट भए । त्यसपछि पाण्ड्याले पोलार्डको टाउकोमा चुम्बन गरे । कृणालको यो सेलिब्रेसको भारतीय क्रिकेटरले नै आलोचना गरेका छन् ।
पूर्वक्रिकेटर पार्थिव पटेलले क्रिकबजसँगको कुराकानीमा भनेका छन्, ‘कृणाल र पोलार्ड धेरै राम्रो साथी हुन् । तर, मैदानमा यी चीजहरू धेरै फरक छन् । पोलार्डले रन बनाउनसकेका छैनन् । साथै, मुम्बई इन्डियन्सको टोली पनि लगातार हारिरहेको छ । यो अवस्थामा एउटा राम्रो खेलाडीले त्यसरी सेलिब्रेसन गरेको अलि सहाउँदैन होला । ड्रेसिङ रुममा त्यो दृश्य राम्रो पनि होला । तर, मैदानमा त्यस्तो हुनु हुँदैन । मेरो विचारमा कृणालको सेलिब्रेसन उचित थिएन ।’