काठमाडौं ।
इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत गएराति समपन्न खेलमा चेन्नई सुपर किंग्स (सिएसके) विरुद्ध पञ्जाब किंग्स ११ रनले विजयी भएको छ । जारी सिजनमा पञ्जाबको यो चाथो जित हो । उसले आठ म्याच खेल्दा चार खेलमा भने हार बेहोरेको छ । यो जितसँगै ऊ अंक तालिकाको छैटौँ स्थानमा पनि उक्लिएको छ ।
यता गत संस्करण विजेता चेन्नईको भने यो छैटौँ हार हो । उसले आठ म्याच खेल्दा दुई खेलमा मात्र जित हात पारेको छ । आफ्नो आठौँ खेलमा पञ्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो ।
उसका लागि अम्बाती रायडूले ३९ बलमा सात चौका र ६ छक्कासहित ७८ रनको पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । ऋतुराज गायकवाड ३०, महेन्द्रसिंह धोनी १२, मिचेल सान्टनर नौ, शिवम दुबे आठ र रोबिन उथप्पा एक रनमै आउट भए । कप्तान रवीन्द्र जडेजा २१ रनमा अविजित रहे ।
पञ्जाबका लागि ऋषि धवन, कागिसो रबाडाले दुई–दुई, अर्शदीप सिंह र सन्दीप शर्माले एक–एक विकेट लिए । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनायो ।
उसका लागि शिखर धवनले उत्कृष्ट पारी खेले । उनले ५९ बलमा नौ चौका र दुई छक्कासहित अविजित ८८ रन बनाए । त्यस्तै, भानुका राजापाक्षेले ४२, लियाम लिभिङस्टोनले १९ र मयंक अग्रवालले १८ रनको योगदान दिए । चेन्नईका लागि ड्वेन ब्रावोले दुई र महेश थिक्क्षणाले एक विकेट लिए ।
धवनले हासिल गरे नयाँ उपलब्धि
पञ्जाब किंग्सबाट आईपीएल खेलिरहेका ब्याटर शिखर धवनले चेन्नईविरुद्ध केही उपलब्धि हासिल गरेका छन् । उनले आईपीएलमा ६ हजार र टी–२० क्रिकेटमा ९ हजार रन पूरा गर्दै उपलब्धि हासिल गरेका हुन् । शिखर आईपीएलमा ६ हजार रन पूरा गर्ने दोस्रो ब्याटर बने ।
उनले २०२ म्याचमा आईपीएलमा ६ हजार रन पूरा गरेका हुन् । आईपीएलमा सर्वाधिक रन बनाउने रेकर्ड विराट कोहलीको नाममा छ । उनले हालसम्म आईपीएलमा २१५ म्याचमा ६ हजार ४०२ रन बनाएका छन् ।
त्यस्तै, धवन टी–२० क्रिकेटमा ९ हजार रन पूरा गर्ने तेस्रो भारतीय ब्याटरको उपलब्धि पनि हासिल गरेका छन् । उनीभन्दा अगाडि विराट (१०३९२) र रोहित शर्मा (१००४८) छन् ।
चेन्नई र पञ्जाबको म्याचपछि यस्तो बन्यो अंक तालिका :