२० बर्से रियानसँग रिसाए हर्षल, खाएका थिए अन्तिम बलमा छक्का (भिडियो)

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) विरुद्ध राजस्थान रोयल्सका युवा ब्याटर रियान परागले उत्कृष्ट पारी खेले । एक एन्डबाट लगातार विकेट पतन भएपनि उनले ३१ बलमा चार छक्का र तीन चौकासहित अविजित ५६ रन बनाए ।

परागले अन्तिम बलमा छक्का हिर्काउँदै टिमको स्कोर १४४ रन पुर्याएका थिए । उनकै शानदार ब्याटिङका कारण राजस्थानले बैंग्लोरलाई २९ रनले हराउन सफल भयो । साथै, परागले फिल्डिङमा चार क्याच पनि पक्रिए । उत्कृष्ट ब्याटिङ गरेका यी २० वर्षीय ब्याटर र बैंग्लोरका स्टार बलर हर्षल पटेलबीच पहिलो पारीको अन्तिममा घम्साघम्सी पनि देख्न पाइयो ।

विवादका क्रममा हर्षल परागदेखि रिसाएका थिए । पराग उत्कृष्ट तरिकाले फिनिसिङ गरेर ड्रेसिङ रुममा फर्किने क्रममा थिए । त्यही बीचमा उनी फर्केर केही बोलिरहेका थिए । त्यही क्रममा हर्षल पनि रिसाएर केही भन्दै आए । तर, राजस्थान टोलीका सहयोगी कर्मचारी र खेलाडीले पराग र हर्षललाई समातेर विवाद साम्य पारे ।

यी दुईबीचको विवादको कारण भने खुल्न सकेको छैन । परागले इनिङ्सको अन्तिम ओभरमा हर्षलविरुद्ध दुई छक्का र एक चौका प्रहार गरेका थिए । १९ औं ओभरको अन्त्यसम्म राजस्थानले १२६/८ रन बनाएको थियो । पराग २५ बलमा ३८ रन खेल्दै थिए । अन्तिम ओभरमा उनले अर्धशतकका साथै छक्कासहित इनिङको अन्त्य गरे ।

बैंग्लोरको पाँचौं हार, शीर्षमा उक्लियो राजस्थान

पाँचौं हार बेहोर्ने क्रममा ऊ गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध २९ रनले पराजित भएको हो । बैंग्लोरको यो लगातार दोस्रो हार हो । ऊ अघिल्लो खेलमा सनराइजर्स हैदराबादविरुद्ध ९ विकेटले पराजित भएको थियो । आफ्नो नवौँ खेलमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान फाफ डुप्लेसिसले सर्वाधिक २३ रन जोडे । वानिन्दु हसरंगा १८, शाहबाज अहमद १७ र रजित पाटिदार १६ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । राजस्थानविरुद्ध पनि पूर्वकप्तान विराट कोहलीको ब्याट शान्त रह्यो ।

अघिल्लो दुई खेलमा लगातार शून्यमै आउट भएका उनले राजस्थानविरुद्ध १० बलमा केवल ९ रन मात्र जोड्न सके । त्यस्तै, टिमका महत्वपूर्ण ब्याटर ग्लेन म्याक्सवेल शून्यमै पवेलिएन फर्किए । राजस्थानका लागि कुलदीप सेनले ३.३ ओभरमा २० रन दिएर ४ विकेट लिए ।

रविचन्द्रन आश्विनले तीन र प्रसिद्ध कृष्णाले दुई विकेट हात पारे । त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा खेल्दै ८ विकेटको क्षतिमा १४४ रन बनायो ।

उसका लागि युवा ब्याटर रियान परागले उत्कृष्ट पारी खेले । उनले ३१ बलमा चार छक्का र तीन चौकासहित अविजित ५६ रन बनाए । कप्तान सञ्जु सामसनले २७, रविचन्द्रन आश्विनले १७ र डारियल मिचेलले १६ रन जोडे । बैंग्लोरका लागि मोहम्मद सिराज, जोस हेजलउड र वानिन्दु हसरंगाले दुई–दुई विकेट लिए ।

यो जितसँगै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आठ म्याच खेल्दा ६ मा जित र दुई खेलमा हार बेहोरेको राजस्थानले १२ अंक जोडेको छ । बैंग्लोर तालिकाको पाँचौँ स्थानमा छ । उसले नौ म्याचमा पाँचमा जित र चार खेलमा हार बेहोरेको छ ।