काठमाडौं ।
गुजरात टाइटन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) का फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो । हैदरावादले दिएको १ सय ९६ रनको लक्ष्य गुजरातले अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
उसको जितमा राशिद खान नायक बने । अन्तिम ओभरमा २२ रन चाहिएको बेला उनले ३ छक्का प्रहार गर्दै रोमाञ्चक जित दिलाए । राशिदले राहुल टेवटियासँग २४ बलमा ५९ रनको साझेदारी गरेका थिए ।
अन्तिम ओभरको पहिलो बलमा मार्को जन्सेनले छक्का प्रहार गरेका टेवटियाले दोस्रो बलमा एक रन लिँदै राशिदलाई स्ट्राइक दिए । चार बलमा १५ रन आवश्यक रहेको अवस्थामा राशिदले तेस्रो बलमा छक्का प्रहार गरे । चौथो बलमा डट खेलेका राशिदले त्यसपछि लगातार २ छक्का प्रहार गर्दै रोमाञ्चक जित दिलाए ।
त्यसअघि ऋद्धिमान साहले ६८ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यस्तै, राहुल टेवाटियाले अविजित ४० रन जोडे । शुभमन गिल २२ र डिभिड मिलर १७ तथा कप्तान हार्दिक पाण्ड्या १० रनमा आउट भए । हैदरावादका उर्मान मलिक ५ विकेट लिए ।
त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनायो । उसका लागि ओपनर अभिषेक शर्मा र एडन मार्कमले उत्कृष्ट पारी खेले । अभिषेकले ४२ बलमा ६ चौका र दुई छक्कासहित ६५ रन बनाए ।
त्यस्तै, मार्कमले ४० बलमा तीन छक्का र दुई चौकाको सहयोगमा ५६ रनको योगदान दिए । राहुल त्रिपाठी १६ रनमा आउट भए । शशांक सिंहले उत्कृष्ट फिनिसिङ गरे । उनले ६ बलमा तीन छक्का र एक चौकासहित अविजित २५ रन बनाए ।
शशांकले अन्तिम ओभरको अन्तिम बलमा लकी फर्गुसनको बलमा लगातार तीन छक्का हिर्काए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । गुजरातका लागि मोहम्मद शामीले तीन, अल्जारी जोसेफ र यस दयालले एक/एक विकेट लिए ।
गुजरातका स्टार बलर राशिद खान भने महँगा सावित भए । उनले चार ओभरमा बिनाविकेट ४५ रन खर्चिए । त्यसक्रममा राशिदले तीन छक्का र दुई चौका दिए । फर्गुसन पनि महँगा सावित भए । उनले ४ ओभरमा बिनाविकेट ५२ रन दिए ।
जारी लिगमा गुजरातले आठ म्याच खेल्दा एक खेलमा मात्र हार बेहोरेको छ । हैदराबादले आठ म्याच खेल्दा पाँचमा जित र तीन खेलमा हारको सामना गरेको छ । हैदराबाद अंक तालिकाको तेस्रो स्थानमा छ ।