काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले पञ्जाब किंग्सलाई २० रनले हराएको छ । जितसँगै लखनउ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । छैटौं जित निकालेको लखनउले नौ खेलमा १२ अंक जोडेको छ ।
पाँचौं हार बेहोरेको पञ्जाब नौ खेलबाट आठ अंकका साथ सातौं स्थानमा छ । आफ्नो नवौं खेलमा १५४ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
उसका लागि जोनी बेयरिस्टोले ३२, कप्तान मयंक अग्रवालले २५, ऋषि धवनले अविजित २१, र लियाम लिभिङस्टोनले १८ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
लखनउका लागि मोहसिन खानले ४ ओभरमा एक मेडनसहित २४ रन दिएर तीन विकेट लिए । दुश्मन्था चामिरा र कृणाल पाण्ड्याले दुई/दुई र रवी बिश्नोईले एक विकेट हात पारे । त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसियसन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनायो ।
उसका लागि क्विन्टन डिककले ३७ बलमा चार चौका र एक छक्कासहित ४६ रन बनाए । त्यस्तै, दीपक हूडाले ३४, दुश्मन्था चामिराले १७ र मोहसिन खानले अविजित १३ रनको योगदान दिएउ । पञ्जाबका लागि कागिसो रबाडाले ४ ओभरमा ३८ रन दिएर चार विकेट लिए । राहुल चाहरले दुई तथा सन्दीप शर्माले एक विकेट लिए । पञ्जाबले एक विकेट भने रनआउटको रूपमा प्राप्त गर्यो ।
पञ्जाब र लखनउको खेलपछि यस्तो बन्यो अंक तालिका :