नेपाल भर्सेस जिम्बाब्वे : दोस्रो खेल निर्धारित समयमै होला? यस्तो छ काठमाडौंको मौसम

Image

काठमाडौं ।

नेपाल र जिम्बाब्वे ‘ए’ टी–२० सिरिजअन्तर्गत दोस्रो म्याच आज खेल्दैछन् । नेपाल र जिम्बाब्वेबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजे सुरु हुने तालिका छ । यद्यपि आज निर्धारित समयमा खुने हुने सम्भावना कम छ ।

काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ । सिमसिमे पानी परिरहेकाले मौसम खुलेमा आज खेल हुने सम्भावना पनि छ । हिजो बिहान पनि काठमाडौंको मौसम खराब नै थियो । तर, दिउँसो भने यहाँको मौसम सफा भयो । र, खेल पनि भएको थियो । आज पनि त्यही मौसम दोहोरिएमा नेपाल–जिम्बाब्वेबीचको खेल हुने सम्भावना छ ।

सिरिजअन्तर्गत नेपाल पहिलो खेलमा आइतबार ६ विकेटले पराजित भएको थियो । सिरिजमा जीवित रहन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपाल आज हारको बदला लिने तयारीसहित मैदानमा उत्रिँदा जिम्बाब्वे लगातार जितको खोजीमा हुनेछ । आजको खेलमा पनि नेपालले अघिल्लो खेलकै प्लेइङ–११ लाई निरन्तरता दिने सम्भावना छ ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो । सिरिज अन्तर्गत नेपालले पाहुना टोली जिम्बाब्वे ‘ए’सँग तेस्रो खेल बुधबार खेल्नेछ । टी–२० सिरिजपछि नेपाल र जिम्बाब्वे ‘ए’ ले तीन खेलकै एकदिवसीय सिरिज खेल्ने भएका हुन् ।

नेपालको सम्भावित प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद ।