काठमाडौं ।
कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको हो । गएरातिको फाइनलमा युभेन्टसलाई अतिरिक्त समयमा ४–२ ले हराउँदै इन्टरले कोपा इटालियाको उपाधि जितेको हो ।
इन्टरलाई उपाधि दिलाउन इभान पेरिसिसले दुई तथा निकोलो बरेला र हकान चलहानोग्लुको एक/एक गोल गरे । युभेन्ट्सका एलेक्स सान्द्रो र डुसान भ्लाहोभिचले समान एक गोल गरे ।
निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । स्टेडियो ओलिम्पीकोमा खेलको सातौं मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
५० औं मिनेटमा सान्द्रोले तथा ५२ औं मिनेटमा भ्लाहोभिचले गोल गर्दा युभेन्ट्स २–१ ले अघि बढ्यो । ८० औं मिनेटमा चलहानोग्लुले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । अतिरिक्त समयमा पेरिसिस दुई गोल गर्दै इन्टरलाई विजेता बनाए । उनले ९९ औं र १०२ औं मिनेटमा गोल गरेका हुन् ।