Khabar Board

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित, डि ब्रुएनाले गरे गोलको वर्षा

काठमाडौं ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा लिग लिडर म्यानचेस्टर सिटीले शानदार जित हात परेको छ । उसले घरेलु टोली उल्भ्समाथि ५–१ को जित हात पारेको हो । मोलिनेउक्स स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डि ब्रुएनाले चार तथा रहिम स्ट्रर्लिङले एक गोल गरे । घरेलु टोलीका लागि लिन्डर डेन्डनकरले एक गोल फर्काए ।

खेलको सातौँ मिनेटमा डि ब्रुएनाको गोलबाट सिटीले सुरुवाती अग्रता लिन सफल भएको थियो । ११औं मिनेटमा डेन्डनकरले उल्भ्सका लागि बराबरी गोल फर्काए । १६ औं मिनेटमा ब्रुएनाले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । २४ औं मिनेटमा ब्रुएनाले ह्याट्रिक पूरा गरेपछि सिटीले पहिलो हाफमा ३–१ को अग्रता लियो ।

६० औं मिनेटमा ब्रुएनाले व्यक्तिगत तथा टोलीका लागि चौथो गोल गरे । ८४ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ५–१ को शानदार जित दिलाए । यो जितसँगै उपाधि नजिक पुगेको सिटीले ३६ खेलमा ८९ अंक जोड्दा पराजित उल्भ्स समान खेलबाट ५० अंकका साथ आठौं स्थानमा छ ।

युभेन्टसलाई हराउँदै इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि

कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको हो । गएरातिको फाइनलमा युभेन्टसलाई अतिरिक्त समयमा ४–२ ले हराउँदै इन्टरले कोपा इटालियाको उपाधि जितेको हो । इन्टरलाई उपाधि दिलाउन इभान पेरिसिसले दुई तथा निकोलो बरेला र हकान चलहानोग्लुको एक/एक गोल गरे ।

युभेन्ट्सका एलेक्स सान्द्रो र डुसान भ्लाहोभिचले समान एक गोल गरे । निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । स्टेडियो ओलिम्पीकोमा खेलको सातौं मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा सान्द्रोले तथा ५२ औं मिनेटमा भ्लाहोभिचले गोल गर्दा युभेन्ट्स २–१ ले अघि बढ्यो । ८० औं मिनेटमा चलहानोग्लुले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । अतिरिक्त समयमा पेरिसिस दुई गोल गर्दै इन्टरलाई विजेता बनाए । उनले ९९ औं र १०२ औं मिनेटमा गोल गरेका हुन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.