भारतीय टिम मोहन बगानसँग पराजित, काम लागेन सुनिल क्षेत्रीको गोल

Image

काठमाडौं ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको भारतीय फुटबल टोली अभ्यास खेलमा पराजित भएको छ । बुधबार भएको आफ्नो पहिलो अभ्यास खेलमा ऊ इण्डियन सुपर लिग क्लब एटिके मोहन बगानसँग पराजित भएको हो ।

कोलकातास्थित साल्ट लेक स्टेडियममा भएको खेलमा भारतीय टोली मोहन बगानसँग २–१ ले पराजित हुन पुग्यो । मोहन बगानको जितमा लिस्टन कोलाको र कियन नासिरीले एक/एक गोल गरे । भारतका लागि सुनिल क्षेत्रीले एक गोल फर्काए ।

दोस्रो खेलमा भारतले आउँदो मंगलबार आइ लिग अल स्टार्सको सामना गर्नेछ । त्यस्तै, भारतले २५ मेमा जाम्बिया र २८ मेमा जोर्डनसँग मैत्रीपूर्ण म्याच खेल्ने तालिका छ । एएफसी एसियन कप छनोटतर्फ भारत समूह ‘डी’ मा छ ।

भारतले एसियन कपमा हङकङ, अफगानिस्तान र कम्बोडियाविरुद्ध खेल्नेछ । समूह ‘डी’ का सबै खेल भारतमा हुने तालिका छ । एशियन कप छनोटको तयारीमा रहेको नेपाली टोली छिट्टै अभ्यासका लागि कतार प्रस्थान गर्दैछ । जहाँ नेपालले जेठ ११ र १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्नेछ ।

एसियन कपमा नेपाल समूह ‘ए’ मा छ । नेपालले जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध खेल्नेछ । नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन् । खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन् ।