काठमाडौं ।
क्रिकेट इतिहासमा हामीले कयौँ पटक एउटै परिवारका दुई जना दाजु भाईलाईसँगै क्रिकेट खेलिरहेका देखेका छौँ । कयौँ दाजु भाईको जोडी अन्तर्राष्ट्रिय क्रिकेटमा सफल जोडीको रूपमा पनि चिनिएको छ । जस्तै, इरफान पठान-यूसुप पठान, स्टिव वाँ-मार्क वाँ र इयान चैपल इयान, ग्रेग चैवल आदीको जोडी । त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेटमा कयौँ पटक बाबु र छोराले पनिसँगै क्रिकेट खेलेका छन् ।
जसमा भारतीय पूर्व महान् खेलाडी सुनिल गावस्कर र उनका छोरा रोहन गावस्कर भारतीय लोकप्रिय बाबा छोराको जोडी थियो । रोहन आफ्नो बाबा सुनिल जसरी क्रिकेटमा सफल हुन सकेनन् । त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेटमा कयौँ खेलाडीे आफ्नो बाबाभन्दा पनि सफल खेलाडी बेनका छन्। आज हामी यो सूचीमा यी तीन खेलाडीको बारेमा चर्चा गर्दैछौँ, जो अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो बाबाभन्दा पनि सफल खेलाडी बने।
१. योगराज सिंह र युवराज सिंह
पूर्व खेलाडी युवराज सिंह भारतीय टिमका चर्चित अलराण्डर मध्येका एक हुन् । उनले २००० मा अष्ट्रेलियाविरुद् च्याम्पियन्स ट्रफीमा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।
युवराजले आफ्नो डेब्यू म्याचमै ८४ रनको पारी खेलेका थिए । आफ्नो डेब्यू म्याचपछि उनी लगातार भारतीय टिमका हिस्सा भए । युवराजले भारतकालागि कयौँ यादगार पारी खेलेका छन् ।
युवराजले २००७ को टी-२० विश्वकपमा इंग्ल्याण्डविरुद् स्टुअर्ड बोर्डको एक ओभरको ६ बलमा ६ छक्का प्रहार गरेका थिए । त्यस्तै, युवराजले २०११ को एकदिवसीय विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ दी सिरिज’ को अवार्ड जितेका थिए ।
त्यस्तै, युवराज सिंहका बाबा योगराज पन्जाबका एक फास्ट बलर थिए । उनलाई १९८०-८१ को इंग्ल्याण्ड भ्रमणमा टिममा समावेश गरिएको थियो । सो सिरिजमा योगराजले एक विकेट पनि लिएका थिए । सो टेष्ट म्याच नै युगराजले अन्तिम टेष्ट म्याच थियो । यस्तै, उनले भारतका लागि ५ वानडे म्याच पनि खेलेका छन् । जसमा योगराजले ४ विकेट लिएका छन् ।
२. पीटर पोलक र शोन पोलक
शोन पोलक आफ्नो समयका एक चर्चित अलराण्डर थिए । उनले एलन डोनाल्डको साथमा मिलेर दक्षिण अफ्रिकाका लागि लामो समयसम्म फास्ट बलिङ गरेका थिए ।
शोनले दक्षिण अफ्रिकाको कप्तानीको जिम्मा पनि पाएका थिए । उनले दक्षिण अफ्रिकाका लागि १ सय ८ टेष्ट म्याच खेल्दै सर्वाधिक ४ सय ४१ विकेट लिएका छन् । त्यस्तै, शोनले वानडेमा पनि ३ सय ९३ विकेट लिएका छन् ।
त्यस्तै, शोनका बाबा पीटर पोलक पनि दक्षिण अफ्रिकाका एक चर्चित फास्ट बलर थिए । तर, उनले आफ्नो छोराको जस्तो प्रदर्शन भने गर्न सकेनन् ।
पीटरले दक्षिण अफ्रिकाका लागि २८ टेष्टम्याच खेल्दै १ सय १६ विकेट लिएका छन् । जसमा उनको वेष्ट प्रदर्शन ६ विकेट लिएर ३८ रन दिनु थियो ।
३. वाल्टन हेड्ली र रिचर्ड हेड्ली
न्यूजिल्याण्डका रिचर्ड हेड्ली विश्व क्रिकेट जगतका महान् अलराण्डर मध्येका एक हुन् । उनी टेष्ट क्रिकेटमा ४ सय विकेट लिने पहिलो बलर हुन् ।
रिचर्ड बलिङका साथै ब्याटिङ पनि विस्फोटक गर्थे । त्यसैले उनको नाम कपिल देव, इमरान खान र इयान बाथम जस्ता महान् अलराण्डको सूचीमा पर्छ ।
सन् १९८५-८६ मा रिचर्डले अष्ट्रेलियाविरुद् उत्कृष्ट प्रदर्शन गर्दै ब्रिसबेन टेष्ट म्याचमा एक्लैले १५ विकेट लिएका छन् । त्यसपछि उनलाई न्यूजिल्याण्ड सरकारले १९९० मानाईटहुडबाट सम्मान गरेको थियो ।
त्यस्तै, रिचर्डका बाबा वाल्टनले न्यूजिल्याण्डका लागि मात्र ११ म्याच खेलेका थिए । पछि उनी न्यूजिल्याण्ड क्रिकेट टिमका कप्तानका साथै चयनकर्ता पनि बनेका थिए । रिचर्डले न्यूजिल्याण्डका लागि १ शतक पनि बनाएका छन् ।