काठमाडौं ।
पाकिस्तानका अनुभवी विकेटकिपर/ब्याट्सम्यान कामरान अकमलले उमरान मलिकको तारिफ गरेका छन् । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा शानदार गतिमा बलिङ गरेपछि उनले मलिकको तारिफ गरेका हुन् । सनराइजर्स हैदराबादबाट खेलिरहेका मलिकले ११ खेलमा १५ विकेट लिएका छन् ।
आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका मलिकबारे पाक टीभीसँगको कुराकानीमा अकमलले भनेका छन्, ‘उमरान मलिक पाकिस्तानमा भएको भए उनले अन्तर्राष्ट्रिय क्रिकेट खलमा डेब्यू गरिसकेका हुन्थे । उनको इकोनोमी रेट उच्च छ । तर, उनी स्ट्राइक बलर हुन् किनभने उनले विकेट लिइरहेका छन् ।’
अकमलले अगाडि भनेका छन्, ‘उमरान मलिकको गति ग्राफ हरेक खेलमा माथि गइरहेको छ । उनको गति १५५ किलोमिटर नजिक रहन्छ जुन तल आउँदैन। भारतीय टोलीमा यो राम्रो प्रतिस्पर्धा हो। यसअघि भारतीय क्रिकेटमा गुणस्तरीय फास्ट बलरको अभाव थियो । अहिले उनीहरूसँग शामी, सिराज, बुमराह र नवदीप सैनी जस्ता धेरै फास्ट बलर छन्। उमेश यादवले पनि उत्कृष्ट बलिङ गरिरहेका छन् । १०–१२ फास्ट बलर भएकाले भारतीय छनोटकर्तालाई छनोट गर्न समस्या हुने देखिन्छ ।’