काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ६० औं खेलमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई २१० रनको लक्ष्य दिएको छ । मुम्बईस्थित बेर्बोन स्टेडियममा टस हारे रब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०९ रन बनायो ।
उसका लागि इंग्लिस ब्याटरद्वय जोनी बेयरिस्टो र लियाम लिभिङस्टोनले आक्रामक ब्याटिङ गरे । बेयरिस्टोले २९ बलमा सात छक्का र चार चौकासहित ५५ रन बनाए । जारी सिजनमा उनको यो लगातार दोस्रो अर्धशतक हो ।
त्यस्तै, लिभिङस्टोनले ४२ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ७० रन बनाए । जारी संस्करणमा उनको यो चौथो अर्धशतकीय पारी हो । शिखर धवन २१, कप्तान मयंक अग्रवाल १९, जितेश शर्मा ९, हरप्रित ब्रार, ऋषि धवन सात/सात रनमा आउट भए ।
बैंग्लोरका लागि हर्षल पटेलले चार, वानिन्दु हसरंगाले दुई शहवाज अहमद र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए । प्लेअफ सम्भावना कायमै राख्न पञ्जाबले यो खेल जित्नैपर्ने हुन्छ । उसले ११ म्याच खेल्दा ६ मा हार र पाँच खेलमा जित हात पारेको छ । बैंग्लोरले १२ म्याचमध्ये सातमा जित र पाँच खेलमा हार बेहोरेको छ ।