काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई ५४ रनले हराएको छ । योसँगै उसले प्लेअफको सम्भावनालाई कायमै राखेको छ । पञ्जाबले १२ म्याच खेल्दा ६ मा जित र ६ खेलमा हार बेहोरेको छ ।
यता आरसिबीले १३ म्याचमध्ये सातमा जित र ६ खेलमा हारको सामना गरेको छ । ऊ १४ अंकका साथ तालिकाको चौथो स्थानका कायमै छ । आफ्नो १३ औं खेलमा पञ्जाबले दिएको २१० रनको लक्ष्य पछ्याएको आरसिबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो ।
उसका लागि ग्लेन म्याक्सवेलले ३५, रजित पाटिदारले २६, विराट कोहलीले २०, हर्षल पटेल, दिनेश कार्तिकले ११/११ र कप्तान फाफ डुप्लेसिसले १० रन बनाए । पञ्जाबका लागि कागिसो रबाडाले तीन, राहुल चाहर, ऋषि धवनले दुई/दुई, हरप्रित ब्रार र अर्शदीप सिंहले एक/एक विकेट लिए ।
त्यसअघि, मुम्बईस्थित बेर्बोन स्टेडियममा टस हारे रब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०९ रन बनायो । उसका लागि इंग्लिस ब्याटरद्वय जोनी बेयरिस्टो र लियाम लिभिङस्टोनले आक्रामक ब्याटिङ गरे । बेयरिस्टोले २९ बलमा सात छक्का र चार चौकासहित ५५ रन बनाए । जारी सिजनमा उनको यो लगातार दोस्रो अर्धशतक हो ।
त्यस्तै, लिभिङस्टोनले ४२ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ७० रन बनाए । जारी संस्करणमा उनको यो चौथो अर्धशतकीय पारी हो । शिखर धवन २१, कप्तान मयंक अग्रवाल १९, जितेश शर्मा ९, हरप्रित ब्रार, ऋषि धवन सात/सात रनमा आउट भए ।
यो जितसँगै पञ्जाब अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । १२ अंक जोडेको पञ्जाबले अब प्लेअफ पुग्न बाँकी दुई खेलमा जित निकाल्नुपर्नेछ । १२ अंकका साथ दिल्ली पाँचौं स्थानमा छ । गुजरात भने प्लेअफ पुगिसकेको छ ।
१६ अंक जोडिसकेकाले लखनउको पनि प्लेअफ सम्भावना प्रवल छ । हैदराबाद र केकेआर १० अंकसहित क्रमशः सातौँ र आठौँ स्थानमा छन् । चेन्नई र मुम्बई भने प्लेअफ दौडबाट बाहिरिसकेका छन् ।
६० म्याच सकिँदा यस्तो बन्यो अंक तालिका