काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ६१ औं खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदराबादलाई १७८ रनको लक्ष्य दिएको छ । पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनायो ।
उसका लागि आन्द्रे रसेलले उत्कृष्ट पारी खेले । २८ बलको सामना गरेका उनले चार छक्का तीन चौकासहित अविजित ४९ रन बनाए । त्यस्तै, साम बिलिङ्सले ३४, अजिंक्य रहाणेले २८, नितिश राणाले २६ र कप्तान श्रेयस अय्यरले १५ रनको योगदान दिए । हैदराबादका लागि उमरान मलिकले तीन, टी नटराजन, मार्को जेन्सन र भुवनेश्वर कुमारले एक/एक विकेट लिए ।
प्लेअफको सम्भावना कायमै राख्न केकेआर र हैदराबाद जित्नैपर्ने दबाबमा छन् । केकेआरले १२ म्याच खेल्दा सातमा हार र पाँच खेलमा जित हात पारेको छ । ऊ १० अंकका साथ तालिकाको आठौं स्थानमा छ । हैदराबादले ११ म्याच खेल्दा ६ मा हार र पाँच खेलमा जित हात पारेको छ । ऊ १० अंकसहित तालिकाको सातौं स्थानमा छ ।