हैदराबादमाथि कोलकाताको फराकिलो जित, झनझन् रोचक बन्दै प्लेअफ दौड

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) ५४ रनले विजयी भएको छ । यो जितसँगै उसले प्लेअफको सम्भावना जीवितै राखेको छ । कोलकाताले १३ म्याच खेल्दा सातमा हार र ६ खेलमा जित हात पारेको छ ।

यदि अब अन्तिम खेल जिते ऊ नेट रनरेटका आधारमा प्लेअफ पुग्न सक्छ । तर, केकेआर यसपालि अन्तिम चारमा पुग्न निकै कठिन छ । किनकी ऊभन्दा अगाडि राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरले १४/१४ अंक जोडिसकेका छन् । त्यस्तै, लखनउ सुपर जायन्ट्स १६ अंकका साथ लगभग प्लेअफ प्रवेश गरिसकेको छ ।

साथै, दिल्ली, पञ्चाब र हैदराबादको पनि समान १० अंक छ । यी तीन टिमले अझै दुई/दुई म्याच खेल्न बाँकी नै छ । हारका बाबजुद हैदराबादले प्लेअफ सम्भावना भने जीवितै राखेको छ । उसले १२ खेलमा सातमा हार र पाँच खेलमा जित हात पारेको छ । आफ्नो १२ औं खेलमा कोलकाताले दिएको १७८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२३ रन मात्र बनाउन सक्यो ।

उसका लागि अभिषेक शर्माले ४३, एडीन मार्कमले ३२ र सशांक सिंहले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । कोलकाताका लागि आन्द्रे रसेलले उत्कृष्ट बलिङ गरे । तार ओभरमा २३ रन दिएका उनले सर्वाधिक तीन विकेट लिए ।

त्यस्तै, टिम साउदीले दुई, वरुण चक्रवर्ती, उमेश यादव, सुनिल नारायणले एक/एक विकेट हात पारे । त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनायो ।

उसका लागि आन्द्रे रसेलले उत्कृष्ट पारी खेले । २८ बलको सामना गरेका उनले चार छक्का तीन चौकासहित अविजित ४९ रन बनाए । त्यस्तै, साम बिलिङ्सले ३४, अजिंक्य रहाणेले २८, नितिश राणाले २६ र कप्तान श्रेयस अय्यरले १५ रनको योगदान दिए । हैदराबादका लागि उमरान मलिकले तीन, टी नटराजन, मार्को जेन्सन र भुवनेश्वर कुमारले एक/एक विकेट लिए ।

यो जितसँगै कोलकाता अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । हैदराबाद आठौं स्थानमा खस्किएको छ । ६१ म्याच सकिँदा गुजरात टाइटन्स प्लेअफमा प्रवेश गरेको छ । मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स (सिएसके) भने प्लेअफ दौडबाट बाहिरिसकेका छन् ।

६१ खेल सकिँदा यस्तो बन्यो अंक तालिका :