काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्स (सिएसके) विरुद्ध गुजरात टाइटन्स ७ विकेटले विजयी भएको छ । जारी सिजनमा गुजरातको यो १० औं जित हो । उसले १३ म्याच खेल्दा तीन खेलमा मात्र हार बेहोरेको छ ।
आफ्नो १३ औं खेलमा चेन्नईले दिएको १३४ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि ऋद्धिमान साहले ५७ बलमा आठ चौका र एक छक्कासहित अविजित ६७ रन बनाए । त्यस्तै, म्याथ्यू वेडले २०, शुभमन गिलले १८, डेविड मिलरले नटआउट १५ र कप्तान हार्दिक पाण्ड्याले सात रनको योगदान दिए ।
चेन्नईको लागि मथीशा पाथिरानाले दुई र मोइन अलीले एक विकेट लिए । त्यसअघि, मुम्बईस्थित वानखडे स्टेडियममा टस टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३३ रन बनायो ।
उसका लागि ऋतुराज गायकवाडले अर्धशतकीय पारी खेले । ४९ बलमा चार चौका र एक छक्का हिर्काएका उनले ५३ रन बनाए । त्यस्तै, नारायण जगदीशनले अविजित ३९, मोइन अलीले २१ र कप्तान महेन्द्रसिंह धोनीले सात रनको योगदान दिए । डेभन कन्वे ५ रनमा आउट भए ।
गुजरातका लागि मोहम्मद शामीले दुई, राशिद खान, अल्जारी जोसेफ र रविसारनिवासन साई किशोरले एक/एक विकेट लिए । यो जितसँगै गुजरातले तालिकामा १८ अंक बनाएको छ । चेन्नई भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । उसले १३ म्याच खेल्दा चार खेलमा मात्र जित हात पारेको छ ।