काठमाडौं ।
महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । आज भएको खेलमा नेपाल युगाण्डासँग १२ रनले पराजित हुन पुगेको हो । यो खेल नेपालको लागि ऐतिहासिक जियो । नेपाली महिला टिमले पहिलोपटक त्रिवि मैदानमा अन्तर्राष्ट्रिय म्याच खेलेको हो ।
१०३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक १६ रनको योगदान दिइन् । डली भट्टले १३, विन्दु रावलले १२ र कविता कुँवरले अविजित ११ रन बनाए ।
युगाण्डाका लागि सारा ओकिटेङ र कोन्सी अविकोले दुई/दुई तथा जेनेट एम्बाबाजी र रिता मुसामालीले एक–एक विकेट हात पार्दा तीन विकेट रन आउटको रूपमा प्राप्त भयो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो । उसका लागि जेनेट एम्बाबाजीले सर्वाधिक २९ रन जोडिन । रिता एनयागेन्गोले १८,केभिन अविनोले १५, फ्रान्कलिन नाजुम्बाले १२ र रिता मुसामालीले अविजित १३ रन बनाए ।
नेपालका कविता कुँवरले दुई तथा कप्तान रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले एक/एक विकेट हात पारे । यो जितसँगै युगाण्डा पाँच खेलको सिरिजमा १–० ले अघि बढेको छ । दोस्रो खेल मंगलबार हुनेछ ।