काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध सनराईजर्स हैदरावादले ३ रनको जित निकालेको छ । गएराति हैदराबादले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९० रन बनायो ।
उसका लागि कप्तान रोहित शर्माले ४८, टिम डेविडले ४६, इशान किशनले ४३, डानियल साम्सले १५ र रमनदीप सिंहले अविजित १४ रन बनाए । हैदरावादका लागि मउरान मलिकले तीन, वासिङ्टन सुन्दर र भुवनेश्वर कुमारले एक/एक विकेट लिए ।
त्यसअघि, वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनायो ।उसका लागि राहुल त्रिपाठीले उत्कृष्ट पारी खेले । उनले ४४ बलमा नौ चौका र तीन छक्कासहित ७६ रन बनाए ।
रियान गर्गले २६ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४२ रनको पारी खेले । निकोलश पूरनले २२ बलमा तीन छक्का र दुई चौकासहित ३८ रनको योगदान दिए । मुम्बईका लागि रमनदीप सिंहले तीन, जसप्रित बुमराह, रिली मेरिडिथ र डानियल साम्सले एक/एक विकेट लिए ।
यो जितसँगै हैदराबादले प्लेअफ सम्भावना कायमै राखेको छ । उसले १३ खेलमा सातमा जित र ६ खेलमा हार बेहोरेको छ । आठौं स्थानमा रहेको हैदराबादले १२ अंक जोडेको छ । अब प्लेअफ पुग्न अन्तिम खेलमा उसले फराकिलो जितका साथै अन्य टिमको नतिजा पनि कुर्नुपर्नेछ ।
मुम्बई भने प्लेअफ दौडबाट बाहिरिसकेको छ । उसले १३ म्याच खेल्दा १० मा हार र तीन खेलमा मात्र जित हात पारेको छ । ६५ म्याच सकिँदा गुजरात मात्र प्लेअफ पुगिसकेको छ । त्यस्तै, राजस्थान र लखनउ १६/१६ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । दिल्ली र बैंग्लोर १४/१४ अंकसहित चौथो र पाँचौं स्थानमा छन् । कोलकाता, पञ्जाब र हैदराबाद समान १२ अंकसहित छैटौं, सातौँ र आठौँ स्थानमा छन् ।
६५ म्याच सकिँदा यस्तो छ प्लेअफ दौड :


















