अमेरिकामा हुने सिरिजका लागि नेपालको टोली घोषणा, यी खेलाडीले पाए मौका

Image

काठमाडौं ।

आसन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपालको टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । यसपालि पनि टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समावेश गरिएको छैन ।

ज्ञानेन्द्रले अन्तिमपटक यही वर्षको २१ मार्चमा अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । त्यसयता उनलाई क्यानले टोलीमा समावेश गरेको छैन । उनको स्थानमा क्यानले देव खनाल, सुनिल धमलालगायत युवा खेलाडीलाई निरन्तरता दिएको छ ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ९ जुनदेखि अमेरिका सिरिज खेल्नेछ । नेपालले सिरिजमा अमेरिकासहित ओमानको सामना गर्ने तालिका छ । यो श्रृंखला १५ जसनसम्म चल्नेछ ।

हालसम्म नेपालले विश्वकप लिग–२ मा १२ म्याच खेलेको छ । जसमा नेपालले ६ मा जित र ६ खेलमा हार बेहोरेको छ । अहिले नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । ओमान भने अंक तालिकाको शीर्ष स्थानमा छ । अमेरिका १६ खेलबाट १४ अंकसहित पाँचौं स्थानमा छ ।

सिरिज खेल्ने नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, मोहम्मद आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो रसागर ढकाल ।