कोलकाताविरुद्ध डिककले खेले अविजित १४० रनको पारी, गरे चौका/छक्काको वर्षा

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ६६ औं खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्स (केकेआर) लाई २११ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डिवाइ पाटिल स्टेडियमा टस जितेर ब्याटिङ रोजेको लखनउले निर्धारित २० ओभरमा बिनाविकेटको क्षतिमा २१० रन बनायो ।

उसका लागि क्विन्टन डिकक र कप्तान केएल राहुलले शानदार पारी खेले । डिककले ७० बलमा १० छक्का र १० चौकासहित अविजित १४० रन बनाए । जारी सिजनमा शतक बनाउने उनी तेस्रो ब्याटर हुन् । यही सिजनमा केएल राहुल र जोस बटलरले पनि शतक बनाइसकेका छन् ।

आइपिएल करियरमा डिककको यो तेस्रो शतक हो । यसअघि उनले २०२२ र २०१६ मा शतकीय पारी खेलेका थिए । कोलकाताविरुद्ध खेलेको पारी डिककको आइपिएल करियरमा अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि आइपिएलमा उनको उच्च स्कोर १०८ रन थियो ।

डिककले कोलकाताविरुद्ध १९ औं ओभरमा लगातार तीन छक्का र २० औं ओभरमा लगातार चार चौका पनि हिर्काउन सफल भए । त्यस्तै, राहुलले पनि शानदार पारी खेले । ५१ बलको सामना गरेका उनले चार छक्का र तीन चौकाको सहयोगमा अविजित ६८ रन बनाए ।

बलिङमा केकेआरका कुनै पनि बलरले विकेट हात पार्न सकेनन् । प्लेअफ सम्भावना जीवितै राख्ने केकेआरले आजको खेल जित्नैपर्ने हुन्छ । उसले १३ म्याच खेल्दा सातमा हार र ६ खेलमा जित हात पारेको छ । लखनउ भने लगभग प्लेअफ पुगिसकेको छ । उसले १३ म्याचमा आठमा जित र पाँच खेलमा हार बेहोरेको छ ।