काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ कोे त्रिकोणात्मक वानडे सिरिजका लागि नेपालको टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टोलीमा यसपालि पनि पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समावेश गरिएको छैन ।
उनले अन्तिमपटक यही वर्षको २१ मार्चमा अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । त्यसयता ज्ञानेन्द्रलाई क्यानले टिममा समावेश गरेको छैन । उनको स्थानमा बरु देव खनाल, सुनिल धमला, मोहम्मद आदिल अन्सारीलगायत युवा खेलाडीले निरन्तरता पाएका छन् ।
लगातार टिम बाहिर भइरहेका ज्ञानेन्द्रले अब मौका पाउन गाह्रो छ । क्यानले युवा खेलाडीलाई प्राथमिकता दिएकाले मल्लले टिममा अवसर पाउने सम्भावना कम रहेको हो । कप्तानी खोसेपछि क्यानले उनलाई प्राथमिकता दिइरहेको छैन । अमेरिका भ्रमण गर्ने नेपाली टोलीमा अनुभवी ब्याटरको कमी छ ।
यदि ज्ञानेन्द्रलाई पनि समावेश गरिएको भए टिम अझ सन्तुलित देखिन्थ्यो । धेरै समर्थकले उनलाई टिममा नराख्ने क्यानको निर्णयप्रति अस्नतुष्टि पनि पोखेका छन् । साथै, क्यानले केही दिनअघि सम्पन्न जिम्बाब्बेविरुद्धको अनौपचारिक सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने युवा स्पिनर बसिर अहमदलाई पनि मौका दिएको छैन ।
बरु खासै लयमा नरहेका सागर ढकाललाई नै निरन्तरता दिइएको छ । किशोर महतो, सुनिल धमला र आदिल अन्सारी पहिलोपटक एकदिवसीय टोलीमा परेका छन् । भीम सार्की, पवन सर्राफ, सुशन भारी, अविनाश बोहरालाई पनि अमेरिका भ्रमणमा राखिएको छैन । क्यानले पछिल्लो समय अविनाशलाई टी–२० क्रिकेटमा मात्र सीमित बनाइरहेको छ ।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ९ जुनदेखि अमेरिकामा सिरिज खेल्नेछ । नेपालले सिरिजमा अमेरिकासहित ओमानको सामना गर्ने तालिका छ । यो श्रृंखला १५ जुनसम्म चल्नेछ ।
हालसम्म नेपालले विश्वकप लिग–२ मा १२ म्याच खेलेको छ । जसमा टिमले ६ मा जित र ६ खेलमा हार बेहोरेको छ । अहिले नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । ओमान भने तालिकाको शीर्ष छ ।
अमेरिका १६ खेलबाट १४ अंकसहित पाँचौं स्थानमा छ । विश्वकप लिग–२ मा सात टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष तीनमा रहने टोली अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।
नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल ।

















