ज्योतिले गरिन् करियरकै उत्कृष्ट ब्याटिङ, यद्यपि नेपालले २ खेल अगावै गुमायो सिरिज

Image

काठमाडौं ।

युगाण्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज नेपालले २ खेल अगावै गुमाएको छ । बिहीबार ६ विकेटले पराजित भएपछि नेपालले पाँच खेलको सिरिज नेपालले दुई म्याच अगावै गुमाएको हो । युगाण्डाले भने लगातार तेस्रो खेल जित्दै सिरिज कब्जा गर्न सफल भयो ।

तेस्रो खेलमा नेपालले दिएको १०० रनको लक्ष्य युगाण्डाले १८.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि केविन अविनोले अविजित ४२ रनको योगदान दिइन् । उनले ५१ बलमा चार चौका प्रहार गरिन् । जेनेट एम्बाबाजीले २७ बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कविता कुँवरले दुई तथा रुबिना क्षेत्री र इन्दु बर्माले एक/एक विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९९ रन बनायो ।

नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान दिइन् । ५४ बलको सामना गर्दै उनले पाँच चौका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले अविजित १८ र सीता राना मगरले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युगाण्डाका लागि फिओना कुलुमे,कोन्सी अविको र सारा अकिटेंगले दुई/दुई तथा जेनेट एम्बाबाजी र रिता मुसामालीले एक/एक विकेट लिए । यो जितसँगै पाँच खेलको सिरिजमा युगान्डाले ३–० को अग्रता लिएको छ । यसअघि उसले १२ रन र १ विकेटको जित हात पारेको थियो । नेपाल र युगाण्डाबीचको चौथो खेल शुक्रबार हुनेछ ।