जिम्बाब्वेमाथि नामिबियाको फराकिलो जित, यी खेलाडी बने ऐतिहासिक जितको ‘हिरो’

Image

काठमाडौं ।

जिम्बाब्वेविरुद्धको टी–२० श्रृंखलाको दोस्रो खेलमा पाहुना टोली नामिबिया ८ विकेटले विजयी भएको छ ।नामिबियाले पहिलोपटक जिम्बाब्वेलाई उसकै मैदानमा ८ विकेटले हराएको हो । योसँगै नामिबियाले पाँच खेलको सिरिज १–१ को बराबरीमा ल्याएको छ ।

पहिलो खेलमा नामिबिया ७ रनले पराजित भएको थियो । दोस्रो खेलमा जिम्बाब्वेले दिएको १२३ रनको लक्ष्य नामिबियाले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर क्रेग विलियम्सले उत्कृष्ट पारी खेले । उनले ५३ बलमा चार चौका र एक छक्कासहित अविजित ६२ रन बनाए ।

त्यस्तै, कप्तान गेहार्ड इरास्पसले ३६, डेविड भिसेले अविजित १३ र डिवान लकुकले ९ रनको योगदान दिए । जिम्बाब्वेका लागि ल्यू जोंग्वे र टेन्डाइ चताराले एक/एक विकेट लिए । त्यसअघि बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लबको स्टेडियममा टस जितेर ब्इाटिङ रोजेको घरेलु टोली जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनायो ।

उसका लागि मिल्टोन शाम्बाले २९, टोनी मुनियोङ्गाले २३, डोनाल्डो ट्रिपानोले १८ र्यान बर्लले अविजित १६ र सिकन्दर राजाले ११ रन बनाए । नामिबियाका लागि डेविड भिसेले तीन, जन फ्राइलिंकले दुई र रुबेन ट्रम्पलम्यानले एक विकेट लिए । जिम्बाब्वे र नामिबियाबीचको तेस्रो टी–२० शनिबार हुनेछ ।