गुजरातमाथि बैंग्लोरको फराकिलो जित, बाहिरिए प्लेअफ दौडबाट थप दुई टिम

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ८ विकेटले विजयी भएको छ । यो जितसँगै बैंग्लोरले प्लेअफ सम्भावना पनि जीवितै राख्न सफल भयो ।

आफ्नो १४ औं खेलमा गुजरातले दिएको १६९ रनको लक्ष्य बैंग्लोरले १८.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरे । ५४ बलमा आठ चौका र दुई छक्का हिर्काएका उनले ७३ रनको पारी खेले । जारी सिजनमा कोहलीको यो उच्च स्कोर हो ।

त्यस्तै, कप्तान फाफ डुप्लेसिसले ४४, ग्लेन म्याक्सवेलले अविजित ४० र दिनेश कार्तिकले एक रनको योगदान दिए । गुजरातका लागि राशिद खानले दुई विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनायो ।

उसका लागि कप्तान हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा चार चौका र तीन छक्कासहित अविजित ६२ रन बनाए । जारी सिजनमा पाण्ड्याको यो चौथो अर्धशतकीय पारी हो । राशिद खानले ६ बलमा दुई छक्का र एक चौकासहित अविजित १९ रनको आक्रामक पारी खेले ।

त्यस्तै, डेविड मिलरले ३४, ऋद्धिमान साहले ३१ र म्याथ्यू वेडले १६ रनको योगदान दिए । आरसिबीका लागि जोस हेजलउडले दुई, वानिन्दु हसरंगा र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए । आरसिबीलाई एक विकेट भने रनआउटको रूपमा प्राप्त भयो ।

यो जितसँगै बैंग्लोर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । ऊ अब प्लेफ पुग्न आज हुने खेलमा दिल्लीले मुम्बईविरुद्ध हार बेहोर्नुपर्ने हुन्छ । आरसिबीभन्दा दिल्लीको नेट रनरेट राम्रो छ ।

आरसिबीको जितपछि पञ्जाब र हैदराबादको प्लेअफ सम्भावना समाप्त भएको छ । लिग चरणको ६७ म्याच सकिँदा गुजरात र लखनउ प्लेअफमा पुगिसकेका छन् ।