काठमाडौं ।
नेपालले युगान्डासँगको चौथो महिला टि२० आई खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।
नेपालले आजको खेलमा युवा लेगस्पिनर हिरान्माय रोयलाई डेब्यू दिएको छ । यू–१९ टोलीको बन्द प्रशिक्षणमा रहेकी उनलाई नेपालले सिधैं सिनियर टोलीमा बोलाएको थियो । उनले प्रदेश १ बाट घरेलु क्रिकेट खेल्ने गर्दछिन् । उनी नेपालबाट महिला टि२० आईमा डेब्यू गर्ने २४ औं खेलाडी हुन् ।
नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । तीव्र गतिकी बलर सबनम राई, संगीता राई र रोमा थापालाई बेन्चमा राखेको छ । हिरान्मायेसँगै अप्सरी बेगम र अस्मिना कर्माचार्यलाई आजको खेलमा मैदान उतारेको छ ।
नेपालले सुरुवाती तीन खेल गुमाउँदै सिरिज हारी सकेको छ । नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाईंमात्र हुनेछ । नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । पाँच महिला टि२० आई सिरिज युगान्डाले दुई खेल अगावै जितेको छ ।
नेपालको प्लेइङ ११ : रुविना क्षेत्री(कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, डली भट्ट, हिरान्माये रोय, सरिता मगर, अप्सरी बेगम, अस्मिना कर्माचार्य, विन्दु रावल
















