काठमाडौं ।
भारतमा जारीे इण्डियन प्रिमियर लिग (आइपिएल) चेन्नई सुपर किंग्सका अलराउन्डर मोइन अली जारी सिजनमा सर्वाधिक छिटो अर्धशतक दोस्रो ब्याटर बनेका छन् । शुक्रबार राजस्थान रोयल्सविरुद्ध १९ बलमा अर्धशतक बनाएसँगै उनले यो उपलब्धि हासिल गरे ।
ऋतुराज गायकवाड २ रनमै आउट भएपछि क्रिजमा आएका अलीले आक्रामक ब्याटिङ गरे । उनले आठ चौका र तीन छक्कासहित १९ बलमा अर्धशतक पूरा गरे । अलीले छैटौं ओभरमा ट्रेन्ट बोल्टविरुद्ध एक छक्का र लगातार पाँच चौका हिर्काउँदै खेलमा थप रोमाञ्चकता दिलाए ।
जारी सिजनमा सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड भने प्याट कमिन्सको नाममा छ । कोलकाताबाट खेल्दै उनले मुम्बई इण्डियन्सविरुद्ध १४ बलमै अर्धशतक बनाएका थिए । आइपिएलमा दोस्रोपटक कुनै पनि ब्याटरले १४ बलमा अर्धशतक बनाएका हुन् ।
युगाण्डाविरुद्ध नेपालको ऐतिहासिक जित
युगाण्डाविरुद्धको टी-२० सिरिजअन्तर्गत चौथो खेलमा नेपाली महिला टोली १५ रनले विजयी भएको छ । जारी सिरिजमा नेपालले लगातार तेस्रो हारपछि पहिलो जित निकालेको हो । क्रिकेट इतिहासमै युगाण्डाविरुद्ध नेपाली महिला टिमको यो पहिलो जित हो । चौथो खेलमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको पाहुना टोली युगाण्डाले १८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।
उसका लागि जेनेट म्याम्बाजाईंले २१, रीता न्यांगेन्डोले १६ र केभिन अविनोले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि हिरान्माय रोयले दुई, कविता कुँवर, कप्तान रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले एक/एक विकेट लिए ।
नेपालले तीन विकेट रनआउटको रूपमा प्राप्त गर्यो । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रनमा अलआउट भयो । नेपालका लागि ओपनर ज्योति पाण्डेले १७, विन्दु रावलले १६ र सीताराना मगरले ११ रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । युगाण्डाका लागि कान्सी अवेकोसले सर्वाधिक तीन विकेट लिए । आज पिच ओसिलो भएका कारण खेल १८ ओभरमा झारिएको थियो । नेपाल र युगाण्डाबीचको पाँचौं तथा अन्तिम खेल भोलि हुनेछ ।