काठमाडौं ।
भारतमा जारीे इण्डियन प्रिमियर लिग (आइपिएल) को ६८ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई १५१ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित बेर्बोन स्टेडियमा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५० रन बनायो ।
उसका लागि अलराउन्डर मोइन अलीले शानदार पारी खेले । उनले ५७ बलमा १३ चौका र तीन छक्कासहित ९३ रन बनाए । मोइन जारी सिजनमा सर्वाधिक छिटो अर्धशतक दोस्रो ब्याटर बनेका छन् । राजस्थानविरुद्ध उनले १९ बलमा अर्धशतक बनाए ।
ऋतुराज गायकवाड २ रनमै आउट भएपछि क्रिजमा आएका अलीले आक्रामक ब्याटिङ गरे । उनले आठ चौका र तीन छक्कासहित १९ बलमा अर्धशतक पूरा गरे । अलीले छैटौं ओभरमा ट्रेन्ट बोल्टविरुद्ध एक छक्का र लगातार पाँच चौका हिर्काउँदै खेलमा थप रोमाञ्चकता दिलाए ।
जारी सिजनमा सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड भने प्याट कमिन्सको नाममा छ । कोलकाताबाट खेल्दै उनले मुम्बई इण्डियन्सविरुद्ध १४ बलमै अर्धशतक बनाएका थिए । त्यस्तै, शुक्रबार राजस्थानविरुद्ध कप्तान महेन्द्रसिंह धोनीले २६ र डेभन कन्वेले १६ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
राजस्थानका लागि युजवेन्द्र चहल, ओबेद म्याक्योले दुई/दुई, रविचन्द्रन आश्विन र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए । प्लेअफमा पुग्न राजस्थानका लागि आजको खेल निकै महत्वपूर्ण छ । यदि यो खेल हारे राजस्थान प्लेअफ पुग्ने सुनौलो अवसर गुमाउन पनि सक्छ । चेन्नई भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ ।














