नेपाल भर्सेस युगाण्डा सिरिज : ज्योतिले बनाइन् सर्वाधिक रन, दुवै जितमा महत्वपूर्ण योगदान

Image

काठमाडौं ।

युगान्डाविरुद्ध कीर्तिपुरमा सम्पन्न ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा नेपालले ३३ रनको जित हासिल गरेको छ । नेपाल भ्रमणमा आएको युगान्डाले सुरुआती तीन खेलमा जित निकाल्दै पाँच खेलको शृंखला सुनिश्चित गरिसकेको थियो ।

घरेलु मैदानमा खेलको पहिलो शृंखलामा ३–० ले पछि परेको नेपालले पछिल्ला दुई खेलमा जित निकाल्दै ३–२ को सम्मानजनक नतिजा निकाल्यो । शनिबार भएको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । युगान्डाका लागि रिता मुसामालीले २६, यानेट एम्बाबाजीले १० तथा शाकिरा स्याडिकले अविजित १३ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सीता राना मगर र इन्दु बर्माले २–२ तथा अस्मिना कर्माचार्य र हिरामान्यी रोयले १–१ विकेट लिए । यसअघि पहिलो इनिङमा नेपालका लागि ज्योति पाण्डेले ६१ बलमा तीन चौकासहित ४९ रन बनाइन् ।

यस्तै, सीताले १७, इन्दुले ८ तथा कविजता जोशीले अविजित १८ रन बनाउँदा अप्सरी बेगम ११ रन बनाएर आउट भए । युगान्डाका लागि कोन्ची अवेको र फियोना कुलुमेले १/१ विकेट लिएका थिए । नेपालले बाँकी चार विकेट रन आउटमा गुमाएको थियो ।

ज्योतिले बनाइन् सर्वाधिक रन

नेपाली महिला टिमकी प्रारम्भिक ब्याटर ज्योति पाण्डेले युगाण्डासँगको सिरिजमा सर्वाधिक रन बनाएकी छन् । विकेटकिपरसमेत रहेकी उनले ५ खेलमा ८८.१४ को स्ट्राइक रेटमा सर्वाधिक ११९ रन बनाए । जारी श्रृंखलामा ज्योतिको उच्च स्कोर ४९ रन हो ।

टी–२० अन्तर्राष्ट्रियमा पनि उनको हालसम्मकै उत्कृष्ट पारी हो । ज्योति युगाण्डासँगको अन्तिम खेलमा ४९ रन आउट भइन् । ६१ बलमा तीन चौकाको मद्दतमा उनले सर्वाधिक ४९ रन बनाइन् । नेपालले जितको दुवै खेलमा ज्योतिले सर्वाधिक रन बनाइन् ।

चौथो खेलमा उनले १३ बलमा चार चौकासहित सर्वाधिक १७ रनको योगदान दिएकी थिइन् । ज्योतिको पारीले नेपाललाई १५ रनको जित निकाल्न महत्वपूर्ण भूमिका खेलेको थियो । त्यस्तै, यो सिरिजमा सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा युगाण्डाकी जेनेट एमबाबाजी रहिन् । उनले ५ खेलमा ११९ रन बनाइन् ।