काठमाडौं ।
एएफसी एसियन कपको तयारीमा रहेको नेपाली फुटलब टिमले मैत्रीपूर्ण खेलमा अफ्रिकी क्लब एभिनीर एफसीविरुद्ध जित हात पारेको छ । नेपालले आज एभिनीरविरुद्ध २–० ले जित हात पारेको हो ।
दशरथ रंगशालामा भएको खेलमा नेपालको जितमा दुवै गोल नवयुग श्रेष्ठले गरे । उनले एक गोल पेनाल्टीमा गरेका थिए । एसियन कप छनोटका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको छ । यहि टिमविरुद्ध नेपाली टिमले खेलको अघिल्ला चार खेलमा दुईमा बराबरी एकमा जित र एक खेलमा हारको सामना गरेको थियो ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप छनोटका लागि अन्तिम टोली पनि घोषणा गरिसकेका छन् । अर्को महिना कुवेतमा हुने प्रतियोगिताका लागि अल्मुताइरीले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
टिममा कप्तान तथा गोलरक्षक किरण चेम्जोङसहित १० सिनियर खेलाडीलाई भने समावेश गरिएको छैन । प्रशिक्षक अल्मुताइरीले यसअघि नै प्रशिक्षण छोड्ने १० खेलाडीलाई तत्काल टिममा नराख्ने बताइसकेका थिए । साथै, उनले बन्द प्रशिक्षण छाडेका खेलाडीलाई साथ दिने किरणलाई पनि अवसर दिएका छैनन् । उनी हाल माल्दिभ्सको लिग खेलिरहेका छन् ।
टिममा मौका नपाउने विद्रोही खेलाडीमा कप्तान किरणसहित सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठ रहेका छन् । अल्मुताइरीले एसियन कपका लागि गोलरक्षकको रूपमा दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापालाई टिममा राखेका छन् । उनले डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याललाई टोलीमा स्थान दिए ।
त्यस्तै, अल्मुताइरीले मिडफिल्डरको रूपमा आकाश बुढा मगर, एरिक विष्ट, निरकुमार राई, पूजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल र सुरज ज्यू ठकुरीलाई मौका दिएका छन् ।
फरवार्डको रूपमा नवयुग श्रेष्ठ, मनिष डाँगी, आयुष घलान, दर्शन गुरुङ र जर्ज प्रिन्स कार्कीले टिममा अवसर पाएका छन् । विकास तामाङ, शिव गुरुङ, निरकुमार राई र रोशन रानामगरले पहिलोपटक राष्ट्रिय टोलीमा मौका पाएका हुन् ।
एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपालले यो समूहमा जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध खेल्ने तालिका छ । प्रतियोगितामा नेपाल र जोर्डनले ८ जुनमा खेल्नेछन् । नेपालले दोस्रो खेलमा ११ जुनमा कुवेतविरुद्ध खेल्नेछ ।
तेस्रो खेलमा नेपालले १४ जुनमा इन्डोनेसियाको सामना गर्ने तालिका छ । एसियन कप छनोटअघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण म्याच खेल्दैछ । नेपालले ११ र १५ जेठमा अफगानिस्तानसँग कतारमा मैत्रीपूर्ण म्याच खेल्न लागेको हो ।