काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ६९ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १६० रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनायो ।
उसका लागि रोभम्यान पावेलले उत्कृष्ट पारी खेले । उनले ३४ बलमा चार छक्का र एक चौकासहित ४३ रन बनाए । पावेलले संकटमा महत्वपूर्ण पारी खेले । कप्तान ऋषभ पन्तले ३३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३९ रनको योगदान दिए ।
पृथ्वी शा २४, सरफराज खान १०, डेविड वार्नर पाँच, शार्दुल ठाकुर चार र मिचेल मार्श शून्यमा आउट भए । अक्षर पटेल १९ रनमा अविजित रहे । मुम्बईका लागि जसप्रित बुमराहले तीन, रमनदीप सिंहले दुई, मयंक मार्कन्डे र डानियल साम्सले एक/एक विकेट लिए ।
प्लेअफमा स्थान बनाउन दिल्लीले मुम्बईविरुद्ध जित निकाल्नैपर्ने हुन्छ । उसले १३ म्याच खेल्दा सातमा जित र ६ खेलमा हार बेहोरेको छ । दिल्ली १४ अंकका साथ पाँचौं स्थानमा छ । दिल्ली विजयी भएमा बैंग्लोर प्लेअफ दौडबाट बाहिरिनेछ । अहिलेसम्म गुजरात, राजस्थान र लखनउले प्लेफमा स्थान बनाइसकेका छन् ।














