काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले सुखद अन्त्य गरेको छ । गएराति सम्पन्न आफ्नो अन्तिम खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले सुखद अन्त्य गरेको हो । पाँच पटकको मुम्बईले १४ म्याचमध्ये ४ मा जित र १० खेलमा हारको सामना गर्यो ।
अन्तिम खेलमा दिल्लीले दिएको १ सय ६० रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि इशान किशनले ३५ बलमा चार छक्का र तीन चौकासहित ४८ रन बनाए । डेवाल्ड ब्रेभिसले ३३ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३७ रनको पारी खेले । टिम डेविडले ११ बलमा चार छक्का र दुई चौकासहित ३४ रनको योगदान दिए । तिलक वर्मा २१ राेहित शर्मा २ रनमा आउट भए । रमनदीप सिंह १३ रनमा अविजित रहे ।
दिल्लीका लागि एनरिक नोर्टजे, शार्दुल ठाकुरले दुई/दुई र कुलदीप सिंहले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनायो ।
उसका लागि रोभम्यान पावेलले उत्कृष्ट पारी खेले । उनले ३४ बलमा चार छक्का र एक चौकासहित ४३ रन बनाए । पावेलले संकटमा महत्वपूर्ण पारी खेले । कप्तान ऋषभ पन्तले ३३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३९ रनको योगदान दिए ।
पृथ्वी शा २४, सरफराज खान १०, डेविड वार्नर पाँच, शार्दुल ठाकुर चार र मिचेल मार्श शून्यमा आउट भए । अक्षर पटेल १९ रनमा अविजित रहे । मुम्बईका लागि जसप्रित बुमराहले तीन, रमनदीप सिंहले दुई, मयंक मार्कन्डे र डानियल साम्सले एक/एक विकेट लिए ।
मुम्बईको जितसँगै रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) प्लेअफमा पुग्दा दिल्लीको यात्रा समाप्त भएको छ । यदि मुम्बईविरुद्ध जित निकाल्न सकेको भए नेट रनरेटका कारण दिल्लीले प्लेअफको यात्रा सुरक्षित गर्ने थियो । उसले यो सिजनमा १४ म्याचमा सातमा जित र सात खेलमा हार बेहोर्यो ।














