लिग वानमा पिएसजीको फराकिलो जित, एम्बाप्पेले गरे गोलको वर्षा

Image

काठमाडौं ।

फ्रेन्च लिग वानअन्तर्गत गएरातिको आफ्नो अन्तिम खेलमा लिग विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित हात पारेको छ । घरेलु टोली पिएसजीले १० खेलाडीमा समेटिएको मेट्जमाथि ५–० को फराकिलो जित हात पारेको हो ।

पिएसजीलाई सहज जित दिलाउन केलियन एम्बाप्पेले ह्याट्रिक पूरा गर्दा नेयमार र एन्जल डि मारियाले समान एक गोल थपे । पार्क डेस प्रिन्सेसमा भएको खेलको २५ औं मिनेटमा एम्बाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिन सफल भएको थियो । २८ औं मिनेटमा एमबाप्पेले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।

३२ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए । ५० औं मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गर्दा घरेलु टोली ४–० ले अघि बढ्यो । ५८ औं मिनेटमा बोउबाकार ट्राओरे दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि पाहुना टोली १० खेलाडीमा समेटियो ।

६७ औं मिनेटमा डि मारियाले गोल गरेपछि पिएसजीले ५–० को फराकिलो जित निकाल्यो । जितसँगै शीर्ष स्थानको पिएसजीले ३८ खेलमा ८६ अंक जोड्दा पराजित मेट्ज समान खेलबाट ३१ अंकका साथ १९ औं स्थानमा रहँदै रेलिगेसनमा परेको छ ।