काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) दिल्ली क्यापिटल्स प्लेअफ पुग्न चुकेको छ । गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सविरुद्ध ५ विकेटले पराजित भएसँगै दिल्ली प्लेअफ पुग्न चुकेको हो । यदि मुम्बईलाई हराएको भए नेट रनरेटका आधारमा प्लेफमा स्थान बनाउने थियो ।
निर्णायक खेलमा दिल्ली पराजित भएपछि कप्तान ऋषभ पन्तले प्रतिक्रिया दिएका छन् । ‘हामी धेरै जसो खेलमा शीर्षमा थियौं। कहिलेकाहीँ हामीले म्याचलाई हाम्रो पकडबाट जान दिएका छौं। टूर्नामेन्टभर हामीले त्यही गरिरह्यौं,’ पन्तले खेल सकिएपछि भनेका छन्, ‘यो दबाबको बारेमा होइन। हामीले राम्रो योजना बनाएर कार्यान्वयन गर्न सक्थ्यौं । गल्तीबाट पाठ सिक्दै, अर्को वर्ष दृढतापूर्वक फर्कनेछौं। हामीले ५–६ रन बढी बनाउन सकेको भए खेल हाम्रो पक्षमा पनि जानसक्थ्यो ।’
पन्तले अगाडि थपे, ‘हामीले प्रतियोगिताभर राम्रो बलिङ गर्यौं । तर, अन्त्यमा शीत आयो । र, हामीले हाम्रो योजना अनुसार बलिङ गर्न सकेनौं। यो गाह्रो छ तर हामीले यसबाट सिक्नुपर्छ ।’
मुम्बईको सुखद अन्त्य, बैंग्लोरको भाग्य खुल्यो
१५ औं सिजनको आइपिएलमा मुम्बई इण्डियन्सले सुखद अन्त्य गरेको छ । गएराति सम्पन्न आफ्नो अन्तिम खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले सुखद अन्त्य गरेको हो । पाँच पटकको मुम्बईले १४ म्याचमध्ये ४ मा जित र १० खेलमा हारको सामना गर्यो ।
अन्तिम खेलमा दिल्लीले दिएको १ सय ६० रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान रोहित शर्माले ३५ बलमा चार छक्का र तीन चौकासहित ४८ रन बनाए । डेवाल्ड ब्रेभिसले ३३ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३७ रनको पारी खेले । टिम डेविडले ११ बलमा चार छक्का र दुई चौकासहित ३४ रनको योगदान दिए । तिलक वर्मा २१ रनमा आउट भए । रमनदीप सिंह १३ रनमा अविजित रहे ।
दिल्लीका लागि एनरिक नोर्टजे, शार्दुल ठाकुरले दुई/दुई र कुलदीप सिंहले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनायो ।
उसका लागि रोभम्यान पावेलले उत्कृष्ट पारी खेले । उनले ३४ बलमा चार छक्का र एक चौकासहित ४३ रन बनाए । पावेलले संकटमा महत्वपूर्ण पारी खेले । कप्तान ऋषभ पन्तले ३३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३९ रनको योगदान दिए ।
पृथ्वी शा २४, सरफराज खान १०, डेविड वार्नर पाँच, शार्दुल ठाकुर चार र मिचेल मार्श शून्यमा आउट भए । अक्षर पटेल १९ रनमा अविजित रहे । मुम्बईका लागि जसप्रित बुमराहले तीन, रमनदीप सिंहले दुई, मयंक मार्कन्डे र डानियल साम्सले एक/एक विकेट लिए । मुम्बईको जितसँगै रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) प्लेअफमा पुग्दा दिल्लीको यात्रा समाप्त भएको छ ।