काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्दले पर्सिक कदिरी एफसीबाट इन्डोनेसियाको लिग वान फुटबल खेल्ने भएका छन् । डिफेन्सिभ मिडफिल्डर रोहितलाई अनुबन्ध गरेको पर्सिकले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट जनाएको हो ।
यसअघि उनले इन्डोनेसियन लिग पर्सिजा जकार्ताबाट खेलेका थिए । रोहितले यसै साता पर्सिजा छोडेको जनाएका थिए । उनी २०१७ मा जकार्तामा अनुबन्धित भएका थिए । रोहितका लागि यो दोस्रो इन्डोनेसियन क्लब हो ।
उनी पेर्सिजा जाकर्ताको अनुभवी खेलाडी मध्ये एक थिए । पहिलोपटक सन् २०१३ मा पेर्सिजनामा आबद्ध भएका रोहितले दुई सिजनअघि क्लबका लागि सय खेल पूरा गरेका थिए । उनले पेर्सिजाबाट खेल्दा सन् २०१८ को लिग वानको उपाधि, २०१८ को प्रेसिडेन्सियल कप र २०२१ को मेन्पोरा कप जितेका थिए।
यस्तै सन् २०१८ मा रोहित लिग वानका सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । यस्तै सो सिजन उनी लिगको उत्कृष्ट ११ खेलाडीभित्र परेका थिए ।














