आइपिएल क्वालिफायर : राजस्थानले दियो गुजरातलाई बलियो लक्ष्य, बटलरले गरे चौकाको वर्षा

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई १८९ रनको लक्ष्य दिएको छ । कोलकातास्थित इडेन गार्डेन स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर जोस बटलरले उत्कृष्ट पारी खेले । उनले ५६ बलमा १२ चौका र दुई छक्कासहित ८९ रन बनाए । जारी सिजनमा बटलरको यो चौथो अर्धशतकीय पारी हो । उनले यही सिजनमा तीन शतकीय पारी पनि खेलिसकेका छन् ।

त्यस्तै, कप्तान सञ्जु सामसनले २६ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४७ रन बनाए । देवदत्त पाडिक्कल २८, रियान पराग चार र यशस्वी जैसवाल तीन रनमा आउट भए । गुजरातका लागि हार्दिक पाण्ड्या, मोहम्मद शामी, रविसारनिवासन साई किशोर र यश दयालले एक/एक विकेट लिए ।

आजको खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउने छ । समूह चरणमा गुजरातले १४ म्याचमा १० मा जित र चार खेलमा हार बेहोरेको थियो । राजस्थानले १४ मध्ये ९ मा जित र पाँच खेलमा हारको सामना गरेको थियो ।