काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को इलिमिनेटर खेलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र लखनउ सुपर जायन्ट्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल साँझ ७ः४५ बजेदेखि कोलकातास्थित इडेन गार्डेन मैदानमा सुरु हुनेछ । दुवै टिम जित हात पार्दै दोस्रो क्लालिफायरमा पुग्न चाहन्छन् ।
आज पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ । विजेता टोलीले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । राजस्थान गएराति सम्पन्न पहिलो क्वालिफायरमा गुजरात टाइटन्सविरुद्ध ५ विकेटले पराजित भएको थियो ।
लिग चरणमा लखनउले १४ मध्ये ९ मा जित र पाँच खेलमा हार बेहोरेको थियो । ऊ तेस्रो स्थानमा रहँदै प्लेफमा प्रवेश गरेको थियो । बैंग्लोरले १४ मध्ये आठमा जित र ६ खेलमा हार बेहोरेको थियो । हालसम्म बैंग्लोरले आइपिएलको उपाधि जित्न सकेको छैन ।
लखनउले भने पहिलोपटक आइपिएल खेलिरहेको हो । उसले डेब्यू सिजनमै उत्कृष्ट प्रदर्शन गरेको छ । यसपालि बैंग्लोरको कप्तानी फाफ डुप्लेसिसले गरिरहेका छन् । विराट कोहलीले राजीनामा दिएपछि बैंग्लोरले फाफलाई अक्सनबाट अनुबन्धन गर्दै कप्तानमा नियुक्त गरेको हो । लखनउको नेतृत्व केएल राहुलले गरिरहेका छन् । दुवै टिमका कप्तान उत्कृष्ट लयमा देखिएका छन् ।
बैंग्लोरको सम्भावित प्लेइङ–११ : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटीदार, ग्लेन म्याक्सवेल, महिपाल लोमर, दिनेश कार्तिक (विकेटकिपर), शाहबाज अहमद, वानिन्दु हसरंगा, हर्षल पटेल, जोश हेजलवुड र मोहम्मद सिराज ।
लखनउको सम्भावित प्लेइङ–११ : क्विन्टन डी कक (विकेटकिपर), केएल राहुल (कप्तान), दीपक हूडा, क्रुणाल पाण्ड्या, आयुष बदोनी, मार्कस स्टोइनिस, जेसन होल्डर, आवेश खान, दुष्मन्था चमेरा, मोहसिन खान र रवि बिश्नोई ।














