काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेसहित ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादक कम्पनि ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ ।
भारतीय कम्पनि ज्यापले कप्तान सन्दीपसँगै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी, सुनिल धमला, भिम सार्की, देव खनाल र आदील अन्सारीलाई प्रायोजन गरेको हो । ज्यापले ६ जना खेलाडीलाई एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो।
ज्यापका संस्थापक सीईओ भब्य भारध्वज र क्रिकेटरहरुले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै खेलाडीहरुले खेल्ने सबै खाले प्रतियोगितामा ज्यापको ब्याट लगायत अन्य सामग्री प्रयोग गर्नेछन्।
यस्तै ज्यापले अनुबन्धित क्रिकेटरहरुलाई सम्पूर्ण क्रिकेट सामग्री प्रदान गर्नेछ । यस अघि ज्यापले राष्ट्रिय महिला क्रिकेटर सबनम राईलाई प्रायोजन गरेको थियो।
सम्झौतापछि ज्याप क्रिकेटका सीईओ भारध्वजले आगामी दिनमा अन्य क्रिकेटरहरुलाई समेत प्रायोजन गर्ने प्रतिबद्दता व्यक्त गरे । कप्तान सन्दीपले ज्याप क्रिकेटको सामग्रीहरु स्तरीय रहेको बताउदै युवा क्रिकेटरहरुलाई पनि प्रायोजन गरेकोमा धन्यवाद व्यक्त गरे।
ज्याप नेपालका प्रतिनिधि तथा पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामाले ज्यापको सामग्री स्तरीय रहेको उल्लेख गर्दै क्रिकेटरलाई सामाग्री सुलभ र सहज उपलब्ध गराउने हिसाबले यो प्रायोजन गरेको बताए ।
बढ्यो नेपाली क्रिकेटरको तलब, नेपाल टी-२० लिग खेल्ने ६ टोलीको नाम सार्वजनिक
नेपाल टी–२० लिग खेल्ने ६ टोलीको नाम सार्वजनिक भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टोलीको नाम पक्का गरेको हो । क्यानका अनुसार विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामको टोलीले लिगमा सहभागिता जनाउनेछन् । क्यानले ४ जेठमा आफ्नै आयोजनामा सञ्चालन हुने फ्रेन्चाइज प्रतियोगिताको औपचारिक घोषणा गर्दै पहिलो संस्करणमा ६ टोली हुने बताएको थियो ।
क्यानले बुधबार एक विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टिमको नाम सार्वजनिक गरेको हो । लिग ८ असोजदेखि ५ कात्तिकसम्म आयोजना हुनेछ । यस्तै, बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिँदै अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिने प्रस्ट पारेको छ ।
साथै, क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमति दिन सकिने पनि क्यानले जनाएको छ । यो निर्णयसँगै नेपालमा सञ्चालमा रहेको एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग जस्ता फ्रेन्चाइज प्रतियोगिताले पुरानै संरचनामा प्रतियोगिता गर्न नपाउने भएका छन् ।
उनीहरू क्षेत्रीय अवधारणाका आधारमा मात्र क्यानसँग अनुमति लिएर सञ्चालन हुने पाउनेछन् । बैठकले यही १ अप्रिलबाट लागू गरी राष्ट्रिय क्रिकेट टोलीका खेलाडी, मैदान कर्मचारी/सहयोगी र पिच क्युरेटरको मासिक पारिश्रमिक पनि वृद्धि गरेको छ ।
राष्ट्रिय पुरुष टोलीका खेलाडीको मासिक पारिश्रमिक १० हजारले वृद्धि हुँदा महिला टोलीका ‘सी’ श्रेणीका खेलाडीको ५ तथा ‘बी’ र ‘ए’ श्रेणीका खेलाडीको ६ हजारको दरले पारिश्रमिक वृद्धि गरिएको हो ।
यस्तै, क्यानले सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक ५ हजार र पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गर्ने पनि निर्णय गरेको छ ।














