पाकिस्तानका पूर्वस्टार बलर अफगानिस्तानको बलिङ प्रशिक्षकमा नियुक्त

Image

काठमाडौं ।

पाकिस्तानका पूर्वतीव्र गतिका बलर उमर गुल अफगानिस्तान पुरुष क्रिकेट टिमको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन् । यसअघि अप्रिलमा यूएईमा प्रशिक्षण र तयारी शिविरमा बलिङ सल्लाहकारको रूपमा नियुक्त गरेको अफगानिस्तान क्रिकेट बोर्डले यसपटक भने उनलाई बलिङ प्रशिक्षकमै नियुक्त गर्यो । उनी जिम्बाब्वे भ्रमणमा बलिङ प्रशिक्षकको रूपमा टोलीमा हुनेछन् ।

‘गुलले हाम्रो राष्ट्रिय लाइनअपमा फास्ट बलरहरूसँग काम गरे र आवश्यकता र क्याम्पमा उनको प्रभावकारिताका आधारमा उनलाई राष्ट्रिय टोलीको बलिङ प्रशिक्षकको रूपमा स्थायी सम्झौता प्रस्ताव गर्ने निर्णय गरियो,’ बार्डको विज्ञप्तिमा भनिएको छ ।

उमरले गत वर्ष मात्र आफ्नो करियरपछि कोचिङ सुरु गरेका थिए । उनलाई पाकिस्तान सुपर लिगमा क्वेटा ग्लाडिएटर्समा अब्दुल रज्जाकको स्थानमा बलिङ प्रशिक्षक बनाइएको थियो। हालै अफगानिस्तानले लान्स क्लुस्नरको स्थानमा ग्राहम थोरपेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

अफगानिस्तानको टोली बुधबार दिउँसो जिम्बाब्वे भ्रमणका लागि प्रस्थान गरेको छ । यो भ्रमणमा टोलीले विश्वकप सुपर लिगअन्तर्गत तीन एकदिवसीय र त्यसपछि तीन खेलको टी–२० सिरिज खेल्नुपर्नेछ । यी सबै खेल जुन ४ देखि १४ सम्म हरारेमा हुनेछन् ।

अफगानिस्तानको बलिङ प्रशिक्षकमा नियुक्त भएका गुललाई पाकिस्तानका उत्कृष्ट फास्ट बलरमध्ये एक मानिन्छ । आफ्नो राष्ट्रिय टोलीका लागि उनले ४७ टेस्टमा १६३ विकेट, १३० एकदिवसीय खेलमा १७९ र ६० टी–२० अन्तर्राष्ट्रियमा ८५ विकेट लिएका छन्। उनले अक्टोबर २०२० मा सबै फर्म्याटबाट संन्यास लिएका थिए ।