काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले लखनउ सुपर जायन्ट्सलाई २०८ रनको लक्ष्य दिएको छ । कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङको मौका पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०७ रन बनायो ।
उसका लागि तेस्रो क्रममा ब्याटिङमा आएका रजत पाटिदारले शतकीय पारी खेले । पटकपटक जीवनदान पाएका उनले ५४ बलमा १२ चौका र सात छक्कासहित अविजित ११२ रन बनाए । आइपिएलमा पाटिदारको यो पहिलो शतकीय पारी हो ।
जारी सिजनमा शतक बनाउने उनी चौथो ब्याटर हुन् । त्यस्तै, जीवनदान पाएका अर्का ब्याटर दिनेश कार्तिकले २३ बलमा पाँच चौका एक छक्कासहित नटआउट ३७ रनको योगदान दिए । विराट कोहली २५, महिपाल लोमर १४ र कप्तान फाफ डुप्लेसिस शून्यमै आउट भए ।
लखनउका लागि कृणाल पाण्ड्या, मोहसिन खान, आवेश खान र रवि विश्नोईले एक/एक विकेट लिए । आजको खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । उसले सो क्वालिफायर खेलमा राजस्थान रोयल्सको सामना गर्नेछ । पराजित टिम भने प्रतियोगिताबाट बाहिरिनेछ ।














