काठमाडौं
रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) भारतका जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायरका प्रवेश गरेको छ । गएराति सम्पन्न एलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै बैंग्लोर क्वालिफायरका प्रवेश गरेको हो ।
अब फाइनल प्रवेशका लागि बैंग्लोरले राजस्थान रोयल्सको सामना गर्नेछ । यो हारसँगै लखनउ भने लिगबाट बाहिरिएको छ । एलिमिनेटर खेलमा बैंग्लोरले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाए । उसका लागि केएल राहुलले शानदार पारी खेले पनि टिमलाई जित दिलाउन भने चुके ।
५८ बलमा पाँच छक्का र तीन चौका हिर्काएका राहुलले ७९ रनको पारी खेले । दीपक हूडाले २६ बलमा चार छक्का र एक चौकासहित ४५ रनको योगदान दिए । मनन बोहराले १९ रन जोड्दा दुश्मन्था चामेरा ११ रनमा अविजित रहे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बैंग्लोरका लागि जोस हेजलउडले तीन, वानिन्दु हसरंगा, हर्षल पटेल र मोहम्मद सिराजले एक/एक विकेट लिए । त्यसअघि कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङको मौका पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०७ रन बनायो ।
उसका लागि तेस्रो क्रममा ब्याटिङमा आएका रजत पाटिदारले शतकीय पारी खेले । पटकपटक जीवनदान पाएका उनले ५४ बलमा १२ चौका र सात छक्कासहित अविजित ११२ रन बनाए । आइपिएलमा पाटिदारको यो पहिलो शतकीय पारी हो ।
जारी सिजनमा शतक बनाउने उनी चौथो ब्याटर हुन् । त्यस्तै, जीवनदान पाएका अर्का ब्याटर दिनेश कार्तिकले २३ बलमा पाँच चौका एक छक्कासहित नटआउट ३७ रनको योगदान दिए । विराट कोहली २५, महिपाल लोमर १४ र कप्तान फाफ डुप्लेसिस शून्यमै आउट भए ।लखनउका लागि कृणाल पाण्ड्या, मोहसिन खान, आवेश खान र रवि विश्नोईले एक/एक विकेट लिए ।














