काठमाडौं ।
एसियन कप छनोट र त्यसअघिको तयारीका लागि राष्ट्रिय फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडीसहितको टोली बुधबार कतारको दोहा प्रस्थान गरेको हो । नेपाली टोली जेठ ११ देखि २० गते सम्म कतारमा प्रशिक्षणमा रहनेछ । त्यहाँ रहँदा टोलीले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
टिमोर लिस्टेसँग शनिबार र ओमानसँग अर्को साताको शुक्रबार खेल हुनेछ । जेठ २१ गते टोली कुवेत जानेछ । टोलीले जेठ २५ गतेदेखि ३१ गते सम्म कुवेतमा हुने एसियन कप छनोट खेलेर असार १ मा स्वदेश फर्कनेछ ।
नेपाल रहेको समूह एमा कुवेत, जोर्डन, इन्डोनेसिया छन । एसियन कप छनोटमा नेपाली टोलीले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र इन्डोनेसियासँग जेठ ३१ गते प्रतिस्पर्धा गर्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीको विवादकाबीच नवयुग श्रेष्ठ नयाँ कप्तान नियुक्त भएका छन् । देश बाहिर रहेका किरण चेम्जोङसहित बन्द प्रशिक्षण छोडेका ११ खेलाडीविना नै राष्ट्रिय टोलीको अन्तिम छनोट गरेपछि नवयुग श्रेष्ठ नयाँ कप्तान तोकिएका छन् ।
खेलाडीले प्रशिक्षकले प्रशिक्षण छोड्न बाध्य पारेको बताउँदै आएका छन् । तर, प्रशिक्षक अल्मुताइरी भने यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्, ‘विना अनुशासन फुटबलमा केही पनि हुन्न । नियम सबैमा लागू हुन्छ, खेलाडी र प्रशिक्षक दुवैमा । म के भन्छु भने भविष्यमा जो कोही पनि नेपाली राष्ट्रिय टिममा पर्न सक्छ । उनको नाम के हो र उनले के कस्तो खेलेको छ, त्यसबारे पछि मात्र सोचिने छ । मेरो एकमात्र प्रश्न हुनेछ, के ती खेलाडी अनुशासनमा बस्ने छन् र नियम पालना गर्नेछन्?’
त्यस्तै, कतार उड्नुअघि कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा अल्मुताइरीले केही कुरा भनेका छन् । ‘धेरैले भन्न थालेका छन् म तानाशाही छ, हिटलर हो, सद्दाम हो भनेर । तर सबैले नियम पालना गर्ने हो भने केही पनि समस्या हुने गर्दैन । अहिले जे जति विवाद भइरहेका छन्, त्यसले स्थिति वास्तवमै खराब गरेको छ, तर मेरो आफ्नै लागि भने राम्रो भएको छ । अब विश्वकप छनोटमा कस्तो टिम हुनुपर्छ भनेर मलाई स्पष्ट चित्र अगाडि आएको छ,’ उनले भने ।
अल्मुताइरीलाई के यो अब नेपाली मिडियासँग अन्तिम कुराकानी हो भनेर पनि सोधिएको थियो । जवाफमा उनले भने, ‘भगवानले चाहेमा यस्तो हुने छैन ।’ कतार बसाइका क्रममा टिमले के कस्तो गर्ने योजना छ त? उनले थपे, ‘कतारमा हामीले तीन मैत्रीपूर्ण खेल खेल्नेछौं ।’ त्यसमध्ये दुई खेल त टिमोर लिस्टे र ओमानविरुद्ध भइहाल्यो । अर्को एक खेल को विरुद्ध हुनेछ, त्यो उनले खुलाउन चाहेनन् । यतिमात्र भने, ‘कतार बसाइ निकै छोटो छ, तर त्यहाँ बस्नेक्रममा खेलाडीको फिटनेस उच्च हुनेछ । टिममा के कस्ता समस्या हुनेछ त्यो थाहा हुनेछ ।’