काठमाडौं ।
एकदिवसीय विश्वकप रोडम्यापको रूपमा हेरिएको आईसीसी विश्वकप लिग–२ मा हालसम्म नेपालले तीन सिरिज मात्र खेल्न पाएको छ । नेपालले चौथो श्रृंखला ९ जुनदेखि अमेरिकामा खेल्दैछ । यो सिरिजमा नेपालले अमेरिकासहित ओमानको सामना गर्ने तालिका छ ।
नेपाली टोली अमेरिका भ्रमण सम्झनलायक बनाउन चाहन्छ । अहिलेसम्म १२ म्याच खेलेको नेपालले अमेरिकामा हुने त्रिकोणात्मक सिरिजमा तीन म्याच जित्न सके अंक तालिकामा पनि सुधार गर्न सक्छ । यो श्रृंखलामा चारमध्ये तीन खेल्न जितेमा नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिनेछ । अहिले नेपाल १२ अंकसहित तालिकाको छैटौं नम्बरमा छ ।
अमेरिकामा नेपालले विश्वकप लिग–२ अन्तर्गत पहिलो सिरिज खेल्न लागेको हो । यो सिरिजमा नेपाली खेलाडीलाई चुनौतीसँगै आफूलाई प्रमाणित गर्ने सुनौलो मौका पनि छ । अमेरिका भ्रमण स्मरणीय बनाउने हो भने नेपालको ब्याटिङ चल्न आवश्यक छ ।
टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकरलगायत अनुभवी ब्याटर नभएको अवस्थामा नेपालले ब्याटिङमा कस्तो गर्ला? त्यो विषय हेर्न लायक हुनेछ । तर, समर्थकले युवा खेलाडीबाट पनि ठूलो आशा राखेका छन् । यसैबीच, आज अमेरिका भ्रमणमा शतक बनाउन सक्ने चार नेपाली ब्याटरको चर्चा गर्दैछौं :
१ दीपेन्द्रसिंह ऐरी
अमेरिका भ्रमणमा शतक बनाउनसक्ने सम्भावित नेपाली ब्याटरको सूचीमा दीपेन्द्रसिंह ऐरीको नाम शीर्ष स्थानमा आउँछ । मध्यक्रममा ब्याटिङ गर्ने उनले पछिल्लो समय लगातार रन बनाइरहेका छन् । दीपेन्द्रले हालसम्म १६ एकदिवसीय अन्तर्राष्ट्रियमा एक शतकको मद्दतमा २९१ रन बनाएका छन् ।
उत्कृष्ट लयमा रहेका उनी त्यसको फाइदा उठाउँदै अमेरिका सिरिजमा पनि शतक बनाउन सक्छन् । दीपेन्द्रले लय कायमै राख्नेमा समर्थक पनि आशावादी छन् । उनको ब्याट चलेको अधिकांश खेलमा नेपाल जितेको विगत छ । आशा गरौं आसन्न त्रिकोणात्मक श्रृंखलामा पनि दीपेन्द्रबाट उत्कृट ब्याटिङ देख्न पाइयोस् ।
२. रोहितकुमार पौडेल :
पछिल्लो समय रोहितकुमार पौडेल पनि भरपर्दो ब्याटरको रूपमा चिनिन्छन् । लगातार राम्रो प्रदर्शन गर्न थालेपछि उनलाई क्यानले उपकप्तानको जिम्मेवारीसमेत दिएको छ । १९ वर्षीय रोहित नेपालका लागि एकदिवसीयमा सर्वाधिक रन बनाउने ब्याटर पनि हुन् । उनले हालसम्म यो प्रारूपमा १७ खेलमा चार अर्धशतक र एक शतकको सहयोगमा ६२३ रन बनाएका छन् । राम्रो प्रदर्शन गर्दै आएका रोहितले अमेरिका भ्रमणमा पनि ठूलो पारी खेल्न सक्छन् । एकदिवसीयमा उनको उच्च स्कोर १२६ रन हो ।
३. आसिफ शेख :
२१ वर्षीय ब्याटर आसिफ शेख पनि राम्रो लयमा छन् । उनी टी–२० र वानडे प्रारूपको क्रिकेटमा परिस्थितिअनुसार खेल्न सक्षम खेलाडीमा चिनिन्छन् । हालसम्म ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका आसिफले एक अर्धशतकको मद्दतमा २१४ रन बनाएका छन् । यो फर्म्याटमा उनको उच्च स्कोर ९० रन हो । पछिल्लो समय उत्कृष्ट लयमा रहेका आसिफलाई अमेरिका टूर फाप्न सक्छ । ओपनिङ ब्याटर भएकाले पनि उनलाई ठूलो पारी खेल्ने सुन्दर मौका छ ।
४. कुशल भुर्तेल :
२५ वर्षीय कुशल भुर्तेल आक्रामक ब्याटरको रूपमा परिचित छन् । टी–२० मा शतक बनाइसकेका उनले एकदिवसीयमा भने त्यो सपना पूरा गर्न बाँकी छ । यसपालि अमेरिका भ्रमणमा कुशलले वानडेमा पनि शतक बनाउने पक्कै कोशिस गर्नेछन् ।
हालसम्म उनले १२ एकदिवसीय अन्तर्राष्ट्रियमा दुई अर्धशतकको सहयोगमा २४३ रन बनाएका छन् । जसमा कुशलको उच्च स्कोर ८४ रन हो । राम्रो लयमा रहेका उनीबाट पनि समर्थकले ठूलो पारीको आशा राखेका छन् । प्रारम्भिक ब्याटर भएकाले कुशलले पनि अमेरिका सिरिजमा शतकीय पारी खेल्न सक्छन् ।
नेपालले पहिलो खेल ९ जुनमा ओमानविरुद्ध खेल्दै अमेरिका भ्रमणको सुरुवात गर्नेछ । त्यसपछि नेपालले ११ जुनमा अमेरिका, १४ जुनमा ओमानविरुद्ध खेल्ने तालिका छ । त्यस्तै, श्रृंखलाको अन्तिम खेलमा नेपालले १५ जुनमा अमेरिकाको सामना गर्नेछ । नेपालले खेल्ने चारवटै म्याच नेपाली समयअनुसार राति ९ः१५ देखि सुरु हुनेछन् ।