काठमाडौं
रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का विकेटकिपर/ब्याटर दिनेश कार्तिकलाई आईपीएलको आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गरिएको छ । बुधबार लखनउ सुपर जायन्ट्सविरुद्धको एलिमिनेटर खेलमा दोषी देखिएपछि उनीमाथि कारबाही गरिएको हो । कार्तिकले पनि आफ्नो गल्ती स्वीकार गरेका छन् ।
उनले आईपीएल आचारसंहिताको धारा २.३ अन्तर्गत लेभल १ को अपराध गरेका आइपिएलले जनाएको छ । आचारसंहिताको स्तर १ उल्लङ्घनको लागि म्याच रेफ्रीको निर्णय अन्तिम र बाध्यकारी हुन्छ । कार्तिकले विपक्षी खेलाडीलाई गाली गरेको भन्दै उनलाई कारबाही गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कारबाहीमा परे पनि कार्तिकले क्वालिफायर म्याच भने गुमाउने छैनन् । लखनउविरुद्ध खेलिएको एलिमिनेटर खेलमा उनले २३ बलमा अविजित ३७ रन बनाए का थिए । सो खेलमा उनले रजत पाटीदारसँग ९२ रनको महत्वपूर्ण साझेदारी गरे ।
पाटीदारले एलिमिनेटर खेलमा ५४ बलमा सात छक्का र १२ चौकासहित अविजित ११२ रन बनाएका थिए । यी दुवै ब्याटरको उत्कृष्ट प्रदर्शनका कारण सो खेलमा आरसिबीले लखनउलाई २०८ रनको लक्ष्य दिएको थियो । जवाफमा लखनउको टोलीले १९३ रन मात्र बनाउन सक्यो । सो खेलमा लखनउ १४ रनले पराजित भयो ।
