काठमाडौं ।
राजस्थान रोयल्स भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई ७ विकेटले हराउँदै राजस्थान फाइनलमा प्रवेश गरेको हो । फाइनलमा अब राजस्थानले आइतबार गुजरात टाइटन्सको सामना गर्नेछ ।
यसपालि पनि फाइनल पुगेर उपाधि जित्ने आरसिबीको सपना अधुरै रह्यो । क्वालिफायरमा बैंग्लोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि जोस बटलरले शतकीय पारी खेले । उनले ६० बलमा १० चौका र ६ छक्कासहित अविजित १०६ रन बनाए । जारी सिजनमा बटलरको यो चौथो शतक हो ।
त्यस्तै, कप्तान सञ्जु सामसनले २३, यशस्वी जैसवालले २१ र देवदत्त पाडिक्कलले ९ रनको योगदान दिए। बैंग्लोरका लागि जोस हेजलउडले दुई र वानिन्दु हसरंगाले एक विकेट लिए ।
त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो । उसका लागि रजद पाटीदारले अर्धशतकीय पारी खेले । ४२ बल खेलेमा उनले चार चौका र तीन छक्का हिर्काए ।
अघिल्लो खेलमा पाटीदारले अविजित ११२ रनको पारी खेलेका थिए । त्यस्तै, आज ग्लेन म्याक्सवेलले १३ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २४ रनको योगदान दिए ।
फाफ डुप्लेसिस २५, महिलपाल लोमर आठ, विराट कोहली सात, दिनेश कार्तिक ६ रनमा आउट भए । शहबाज अहमद १२ रनमा अविजित रहे । राजस्थानका लागि प्रसिद्ध कृष्णा, ओबेद म्याक्योले तीन–तीन रविचन्द्रन आश्विन र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।
