काठमाडौं ।
राजस्थान रोयल्स १४ वर्षपछि इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई ७ विकेटले हराउँदै राजस्थान वर्षौंपछि आइपिएलको फाइनलमा पुगेको हो । ऊ २००८ यता फाइनलका पुग्न सकेको थिएन ।
शनदार जितको साथ राजस्थान फाइनल पुगेपछि कप्तान सञ्जु सामसनले प्रतिक्रिया दिएका छन् । ‘यो निकै कठिन खेल थियो । तर, आईपीएलमा हामीले फर्कने बानी बसालेका छौं। यो ठूलो प्रतियोगिता हो, जहाँ तपाईंले उतारचढाव देख्नुहुनेछ। पहिले बलिङ गर्दा पिचमा केही हलचल थियो, जसले फास्ट बलरहरूलाई मद्दत गरिरहेको थियो ।’
उनले थप भने, ‘पिचमा बाउन्स राम्रो थियो, जसले स्पिनरहरूलाई बल प्रहार गर्न सजिलो बनायो। तर, हाम्रा फास्ट बलरहरूले उत्कृष्ट काम गरे। दिनेश कार्तिक र ग्लेन म्याक्सवेललाई रोक्नु हाम्रो लागि महत्त्वपूर्ण थियो, जसमा हामी सफल भयौं ।’
सञ्जुले एक सिजनमा १३ टस हारेको लज्जास्पद कीर्तिमान राखे पनि उनले आरसीबीविरुद्ध टस जित्न सफल भए। यसबारे कुरा गर्दै उनले भने, ‘हो टसले हामीलाई धेरै सजिलो बनायो। टसले ठूलो भूमिका खेल्यो। दोस्रो इनिङ्समा पिचको मनोवृत्ति बिल्कुलै फरक थियो ।’

फाइनलमा अब राजस्थानले आइतबार गुजरात टाइटन्सको सामना गर्नेछ । यसपालि पनि फाइनल पुगेर उपाधि जित्ने आरसिबीको सपना भने अधुरै रह्यो । क्वालिफायरमा बैंग्लोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि जोस बटलरले शतकीय पारी खेले । उनले ६० बलमा १० चौका र ६ छक्कासहित अविजित १०६ रन बनाए । जारी सिजनमा बटलरको यो चौथो शतक हो ।
त्यस्तै, कप्तान सञ्जु सामसनले २३, यशस्वी जैसवालले २१ र देवदत्त पाडिक्कलले ९ रनको योगदान दिए। बैंग्लोरका लागि जोस हेजलउडले दुई र वानिन्दु हसरंगाले एक विकेट लिए । त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो ।
उसका लागि रजद पाटीदारले अर्धशतकीय पारी खेले । ४२ बल खेलेमा उनले चार चौका र तीन छक्का हिर्काए । अघिल्लो खेलमा पाटीदारले अविजित ११२ रनको पारी खेलेका थिए । त्यस्तै, ग्लेन म्याक्सवेलले १३ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २४ रनको योगदान दिए ।
फाफ डुप्लेसिस २५, महिलपाल लोमर आठ, विराट कोहली सात, दिनेश कार्तिक ६ रनमा आउट भए । शहबाज अहमद १२ रनमा अविजित रहे । राजस्थानका लागि प्रसिद्ध कृष्णा, ओबेद म्याक्योले तीन/तीन रविचन्द्रन आश्विन र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।
