काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायरमा राजस्थान रोयल्सविरुद्ध पराजितसँगै फेरि एकपटक रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) काे उपाधि जित्ने सपना पूरा गर्न सकेन । गएरातिको क्वालिफायर खेलमा ७ विकेटले पराजित भएपछि बैंग्लोरको सपना यसपालि पनि अधुरै रहेको हो ।
फाइनल पुग्न चुकेपछि आरसिबीका कप्तान फाफ डु प्लेसिसले प्रतिक्रिया दिएका छन् । ‘जब हामी फिल्डिङमा गयौं, केही रन कम भएको महसुस भयो। १८० राम्रो स्कोर हुन्थ्यो जस्तो लाग्याे । आरसीबीका लागि यो सिजन उत्कृष्ट रह्यो । हामी जहाँ गए पनि फ्यानहरू धेरै विशेष हुन्छन्। हामीलाई साथ दिनुहुने सबैलाई धेरै-धेरै धन्यवाद । हाम्रा लागि केही अविश्वसनीय प्रदर्शनहरू भएका छन्। हर्षल पटेल, दिनेश कार्तिक पनि भारतका लागि छनोट भए । स्पष्ट रूपमा राजस्थानविरुद्धको रात भने हाम्रो लागि सुखद रहन सकेन ।’
डु प्लेसिसले अगाडि भने, ‘हामीसँग टोलीमा राम्रो युवा प्रतिभा छ । र, उनीहरूलाई ३ बर्से योजनाका साथ लिइएको हो। त्यो तपाईले अधिकतम बनाउन प्रयास गर्नुहुन्छ। तपाईंले तिनीहरूलाई सुरुमा हौसला दिनुपर्छ । त्यसपछि उनीहरू सुपरस्टार बन्न सक्छन्। आइपिएलपछि तपाईले सधैं तीनवटा भारतीय टोली छनोट गर्न सक्नुहुन्छ जसमा युवा प्रतिभाहरू आउँदैछन्। जब म फ्रेन्चाइजीमा सामेल भएँ त्यो सबैभन्दा स्पष्ट कुरा थियो ।’
फाफले राजस्थानविरुद्ध आरसिबी हार्नुको कारण उत्कृष्ट सुरुवात गर्न नक्सनु, फिनिसिङ सोचेअनुरूप हुन नसक्नु र बटलरलाई रोक्न नसक्नु रहेको पनि उल्लेख गरे । त्यस्तै, राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले १४ वर्षपछि टिम फाइनलमा पुगेकोमा जितमा खुसी व्यक्त गरेका छन् ।
‘यो निकै कठिन खेल थियो । तर, आईपीएलमा हामीले फर्कने बानी बसालेका छौं। यो ठूलो प्रतियोगिता हो, जहाँ तपाईंले उतारचढाव देख्नुहुनेछ। पहिले बलिङ गर्दा पिचमा केही हलचल थियो, जसले फास्ट बलरहरूलाई मद्दत गरिरहेको थियो ।’
उनले थप भने, ‘पिचमा बाउन्स राम्रो थियो, जसले स्पिनरहरूलाई बल प्रहार गर्न सजिलो बनायो। तर, हाम्रा फास्ट बलरहरूले उत्कृष्ट काम गरे। दिनेश कार्तिक र ग्लेन म्याक्सवेललाई रोक्नु हाम्रो लागि महत्त्वपूर्ण थियो, जसमा हामी सफल भयौं ।’
सञ्जुले एक सिजनमा १३ टस हारेको लज्जास्पद कीर्तिमान राखे पनि उनले आरसीबीविरुद्ध टस जित्न सफल भए। यसबारे कुरा गर्दै उनले भने, ‘हो टसले हामीलाई धेरै सजिलो बनायो। टसले ठूलो भूमिका खेल्यो। दोस्रो इनिङ्समा पिचको मनोवृत्ति बिल्कुलै फरक थियो ।’
फाइनलमा अब राजस्थानले आइतबार गुजरात टाइटन्सको सामना गर्नेछ । यसपालि पनि फाइनल पुगेर उपाधि जित्ने आरसिबीको सपना भने अधुरै रह्यो । क्वालिफायरमा बैंग्लोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि जोस बटलरले शतकीय पारी खेले । उनले ६० बलमा १० चौका र ६ छक्कासहित अविजित १०६ रन बनाए । जारी सिजनमा बटलरको यो चौथो शतक हो ।
त्यस्तै, कप्तान सञ्जु सामसनले २३, यशस्वी जैसवालले २१ र देवदत्त पाडिक्कलले ९ रनको योगदान दिए। बैंग्लोरका लागि जोस हेजलउडले दुई र वानिन्दु हसरंगाले एक विकेट लिए । त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो ।
उसका लागि रजद पाटीदारले अर्धशतकीय पारी खेले । ४२ बल खेलेमा उनले चार चौका र तीन छक्का हिर्काए । अघिल्लो खेलमा पाटीदारले अविजित ११२ रनको पारी खेलेका थिए । त्यस्तै, ग्लेन म्याक्सवेलले १३ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २४ रनको योगदान दिए ।
फाफ डुप्लेसिस २५, महिलपाल लोमर आठ, विराट कोहली सात, दिनेश कार्तिक ६ रनमा आउट भए । शहबाज अहमद १२ रनमा अविजित रहे । राजस्थानका लागि प्रसिद्ध कृष्णा, ओबेद म्याक्योले तीन/तीन रविचन्द्रन आश्विन र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।