काठमाडौं ।
इण्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै चर्चित क्रिकेट लिगमा पर्छ । यो लिगमा हरेक वर्ष विश्व क्रिकेटका ठूला खेलाडी खेल्न लालायित हुन्छन् । आईपीएल खेल्ने खेलाडीले लाखाैँदेखि करोडौं रुपैयाँ पारिश्रमिक पाउँछन् । के तपाईलाई थाहा छ आईपीएलको उपाधि जित्ने टिमलाई कति पुरस्कार रकम दिइन्छ?
आइपिएलमा च्याम्पियन बन्ने टोलीदेखि चौथो स्थानमा रहने टोलीलाई पुरस्कार राशि दिइन्छ । आइपिएल २०२२ को फाइनलमा गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । यी दुई टोलीबीचको उपाधि भिडन्त आइतबार हुनेछ । यसपालि विजेता टोलीले २० करोड भारु प्राप्त गर्नेछ ।
त्यस्तै, उपविजेता टोलीले १३ करोड भारु पाउनेछ । त्यस्तै, यो सिजनमा तेस्रो र चौथो हुने टोलीले सात/सात करोड भारु पाउने छन् । योपटक तेस्रो रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) र चौथो लखनउ सुपर जाइन्ट्स बनेको छ ।

उपाधि हात नपारे पनि यी दुई टिमले पनि करोडौं रुपैयाँ पाउने छन् । विश्व क्रिकेट लिगमा आइपिएलमा नै विजेता टिमले सर्वाधिक पुरस्कार राशि पाउने गरेको छ । आइपिएलपछि क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सबैभन्दा धेरै पुरस्कार राशि रहेको छ ।
सिपिएल उपाधि जित्ने टोलीले ७ करोड ५० लाख प्राप्त गर्ने गरेको छ । आइपिएल २००८ मा विजेता टोलीले ४.८ करोड भारु पाएको थियो । सो सिजनको उपाधि राजस्थानले जितेको थियो । यो पुरस्कार राशि अहिले झण्डै चार गुणा बढेको छ ।
