काठमाडौं ।
‘बेबी एबी डिभिलियर्स’को नामले परिचित दक्षिण अफ्रिकाका युवा ब्याटर डेवाल्ड ब्रेभिसले आफ्नो पहिलो आईपीएल सिजनको बारेमा प्रतिक्रिया दिएका छन् । उनले आईपीएलमा यति धेरै अन्तर्राष्ट्रिय खेलाडीसँग खेल्न पाउँदा धेरै कुरा सिक्ने मौका पाएको प्रतिक्रिया दिएका हुन् । उनले यो सिजनमा मुम्बई इण्डियन्सबाट आईपीएल खेलेका थिए ।
यू–१९ विश्वकपमा ब्रेभिसले उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकपमा उनले सर्वाधिक ५०६ रन बनाएका थिए । यही कारण ब्रेभिस आईपीएलमा पनि बिक्री भएका थिए ।आईपीएल अक्सनअघि नै ब्रेभिस चर्चामा थिए । र, यसले उनलाई धेरै फाइदा पुर्यायो ।

मुम्बईले ब्रेभिसलाई ३ करोडमा आफ्नो टोलीमा समावेश गरेको थियो । उनले मुम्बईका लागि खेल्दा केही उत्कृष्ट पारी खेले । र, उनले लामो छक्का प्रहार गरे। डेवाल्डले पहिलो सिजनमै समर्थकलाई आफ्नो प्रदर्शनबाट प्रभावित वारेका छन् ।
मुम्बईले जारी गरेको भिडियोमा आफ्नो पहिलो आईपीएल सिजनको प्रतिक्रिया दिँदै डेवाल्डले भनेका छन्, ‘मलाई अन्तर्राष्ट्रिय खेलाडीविरुद्ध खेल्न पाउँदा साँच्चै रमाइलो लाग्यो। यो धेरै महत्त्वपूर्ण कुरा थियो। मैले त्यहाँ आफ्नो प्राकृतिक खेल मात्र खेलेको छु। मैले पहिलो सिजनमा धेरै कुरा सिकें ।’ ब्रेभिसले आफ्नो पहिलो सिजनको आईपीएलमा ७ खेलमा १४२.४७ को स्ट्राइक रेटमा १६१ रन बनाए ।
