काठमाडौं ।
नेपाली टिमका तीव्र गतिका बलर बिक्रम सोबले अमेरिका भ्रमण गुमाएका छन् । चोटका कारण उनले अमेरिकामा आयोजना हुन लागेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज गुमाएका हुन् । विक्रम स्थानका क्यानले स्पिनर सुशन भारीलाई टोलीमा समावेश गरेको छ ।
त्रिकोणात्मक सिरिजमा लागि नेपाली टोली शनिबार राति अमेरिका प्रस्थान गरेको छ । सिरिजमा नेपालले अमेरिका र ओमानसँग खेल्नेछ । सिरिजअघि नेपाली टोलीले अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका छ ।
नेपालले पहिलो खेल ओमानसँग जुन ९ तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै, जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ ।

आईसीसी विश्वकप लिग–२ प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नुपर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा बिहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा छ । यसैगरी स्कटल्याण्ड २४ अंकसहित दोस्रो स्थानमा रहँदा युएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
१२ खेल मात्र खेलेको नेपाल अहिले छैटौं स्थानमा छ । पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अंक जोडेर तालिकाको पुुछारमा छ । अमेरिका पाँचौं स्थानमा छ भने नामिबिया चौथो स्थानमा छ । ७ मध्य शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको छनोटका लागि स्थान बनाउने छन् ।
